सन् २०२५ मा नेपालले पर्यटक आगमनमा उल्लेख्य सुधार गरे पनि कोभिडअघिको ऐतिहासिक कीर्तिमान पुनः तोड्न सकेन। राजनीतिक आन्दोलन, बेमौसमी वर्षा र प्राकृतिक प्रकोपका कारण वर्षभरको पर्यटन गति प्रभावित हुँदा नेपाल २०१९ को उच्च विन्दुभन्दा केही पछाडि रोकिएको हो।
नेपाल पर्यटन बोर्डका अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०१९ को कीर्तिमान ११ लाख ९७ हजार १ सय ९१ भन्दा करिब ३ प्रतिशत कम हो। यद्यपि, अघिल्लो वर्ष २०२४ को तुलनामा भने आगमन ३.९ प्रतिशतले वृद्धि भएको छ।
‘जेन जी आन्दोलन’ र बेमौसमी वर्षाले झड्का
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार सेप्टेम्बरमा भएको ‘जेन जी आन्दोलन’ र त्यसपछि असोज–कात्तिकमा परेको बेमौसमी वर्षाले मुख्य पर्यटकीय सिजनमै नकारात्मक असर पारेको छ। विशेषगरी भारत र चीनजस्ता छिमेकी मुलुकबाट हुने आगमन प्रभावित भएको बोर्डको विश्लेषण छ। उनका अनुसार यदि ती अवरोध नभएको भए २०२५ मै १२.५ देखि १३ लाख पर्यटक भित्र्याउने सम्भावना थियो। तर आन्दोलनपछि पनि पर्यटन क्षेत्र छिटो उठ्न सफल भएको भन्दै जोशीले नेपाल सुरक्षित गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुगेको दाबी गरे।
डिसेम्बरमा सुधार, तर पुरानै उचाइ टाढा
२०२५ को डिसेम्बर महिनामा मात्र ९८ हजार १ सय ९० पर्यटक नेपाल आएका छन्, जुन २०२४ को सोही महिनाभन्दा बढी हो। तर २०१९ को डिसेम्बरमा आएको १ लाखभन्दा बढी पर्यटकको संख्यासँग तुलना गर्दा अझै ठूलो दूरी देखिन्छ।
सार्क घट्यो, मध्यपूर्व चम्कियो
यस वर्ष सार्क मुलुकबाट पर्यटक आगमन २.३ प्रतिशतले घटेर ४ लाख ८ हजारमा सीमित भएको छ। कुल पर्यटकमध्ये ३५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने सार्क बजार कमजोर हुनु नेपाल पर्यटनका लागि चिन्ताको विषय बनेको छ।
तर यसको विपरीत, मध्यपूर्वबाट आउने पर्यटक २३ प्रतिशतभन्दा बढीले बढेका छन्, जसलाई बोर्डले सकारात्मक संकेतका रूपमा लिएको छ। युरोप, अमेरिका र ओसियानाबाट पनि क्रमिक सुधार देखिएको छ।
भारत–चीन दुवै घट्दो ट्रेन्डमा
नेपालका दुई प्रमुख स्रोत बजार भारत र चीन दुवैबाट आगमन घट्दो क्रममा छ। भारतबाट २०२५ मा २ लाख ९२ हजार पर्यटक आए, जुन अघिल्लो वर्षभन्दा ८ प्रतिशत कम हो।
चीनबाट आउने पर्यटक संख्या अझै कोभिडअघिको अवस्थामा फर्किन सकेको छैन। २०२५ मा ९५ हजार चिनियाँ पर्यटक मात्र आए, जुन २०१९ को तुलनामा ४३ प्रतिशत कम हो।
शीर्ष १० स्रोत बजारमा भारत अग्रस्थानमै
पर्यटन बोर्डका अनुसार २०२५ मा पनि भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक रह्यो। त्यसपछि अमेरिका, चीन, बेलायत र बंगलादेश क्रमशः शीर्ष पाँचमा परे। अस्ट्रेलिया, श्रीलंका, थाइल्यान्ड, जर्मनी र जापानले बाँकी शीर्ष १० पूरा गरेका छन्।
२०२६ मा ‘आसियान फोकस’
पर्यटन बोर्डले २०२६ लाई ‘आसियान पर्यटन वर्ष’ घोषणा गर्दै आक्रामक प्रवर्द्धन रणनीति अपनाउने तयारी गरेको छ। बोर्डको लक्ष्य आसियान मुलुकबाट आउने पर्यटक संख्या कम्तीमा ५० प्रतिशतले बढाउने रहेको छ।
सोसल मिडिया क्याम्पेन, अन्तर्राष्ट्रिय सेलिब्रेटी प्रवर्द्धन र विदेशी सञ्चारमाध्यममार्फत प्रचारलाई तीव्र बनाइने बोर्डको योजना छ।
कीर्तिमान नछुने निराशाबीच पनि २०२५ ले २०२६ का लागि आशाको आधार तयार पारेको पर्यटन क्षेत्रको बुझाइ छ।








