नेपालमा हवाई खेलकुदसम्बन्धी गतिविधिहरुमा सक्रिय कम्पनीहरूको छाता संगठन, नेपाल हवाई खेलकुद संस्था (ना)ले हालै नयाँ कार्यसमिति चयन गरेको छ । गत साता भएको नाको २१औँ साधारणसभा र १०औँ अधिवेशनले अनिल केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित भइसकेपछि केसीका अगाडि पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधानाका साथै नामा आबद्ध कम्पनी र श्रमिकहरूको हकहितका लागि काम गर्नुपर्ने चुनौती आएको छ । सरकारसँग नीतिगत बहस गर्दै यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याउनका लागि गर्नुपर्ने चुनौती तथा सम्भावनाबारे अध्यक्ष केसीसँग टुरिजमपानाका लागि सोनी शाहीले गरेको कुराकानीको सम्पादित अंश ।
देशमा प्याराग्लाइडिङको अवस्था कस्तो छ र अध्यक्षका रूपमा यहाँको भूमिका के हुन्छ ?
नेपाल हवाई खेलकुद संस्था (ना) प्याराग्लाइडिङ, अल्ट्रालाइट, र हट एयर बेलुनलगायत हवाई खेलकुदसँग सम्बन्धित कम्पनीहरूको छाता संगठन हो। म यस क्षेत्रमा १२ वर्षदेखि प्राविधिक सेवा दिइरहेको छु । पोखरा प्याराग्लाइडिङका लागि ठूलो सम्भावना भएको क्षेत्र हो । विगतमा पोखरामा निकै राम्रो भएको प्याराग्लाइडिङ अहिले भने राम्रो अवस्थामा छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यसको लय बिग्रिएको छ । विगतमा पनि हामीले म्यापिङ, टाइमिङ, र विविध प्रविधिका आधारमा पोखरामा प्याराग्लाइडिङको वातावरण नबनाएको होइन । अब पनि मेरो लक्ष्य यहाँको प्याराग्लाइडिङको विकास नै हो। चुनावमा उठेका सबैको लक्ष्य यस क्षेत्रको विकास गर्नु हो र मेरो पनि त्यही हो । यसका लागि अब सबैसँग सहकार्य गरेर अगाडि बढ्न जरुरी ठानेको छु ।
निर्वाचन तोकिएको समयभन्दा ढिला भयो नि, किन ?
सुरुमा सबैको सहमतिमा नयाँ कार्यसमिति चयन गरौं भन्ने भएको थियो। तर, त्यो सम्भव भएन । केही दिनपछि सार्दा सहमतिको प्रयास भइरहेको थियो । तर, बाँकी पदाधिकारीमा सहमति जुटे पनि अध्यक्ष पदमा जुट्न सकेन । यद्यपि, हामीले लोकतान्त्रिक पद्धतिमार्फत नै निर्वाचन सम्पन्न गरेका छौं । यसमा सबैको जित भएको छ ।
सोलो प्याराग्लाइडिङ उडानबारे के योजना बनाउनुभएको छ ?
पोखरामा अहिले ट्यान्डम फ्लाइटहरू (दुई जना उड्ने) मात्र भइरहेका छन् । तर, विगतमा प्याराग्लाइडिङ सोलो (एक्लै उड्ने)बाटै विकसित भएको हो। अहिले जति पनि व्यावसायिक प्यारापाइलटहरू हुनुहुन्छ, सबैले पहिला सोलो प्याराग्लाइडिङको तालिम पूरा गरेर मात्र ट्यान्डम फ्लाइटको उडान भर्न पाउने व्यवस्था छ । यद्यपि, यतिबेला पोखरामा सोलो उडान बन्द भएको अवस्था छ।
पोखरामा प्याराग्लाइडिङको सुरुवातमा यहाँको हावाको सन्तुलित बहाव, आठ हजार मिटरभन्दा अग्ला हिमालहरू देखिनु, ताललगायतका कारण अन्तर्राष्ट्रिय सोलो पाइलटहरूको आकर्षण बढेको थियो। अहिले ट्यान्डममा मात्र सीमित हुँदा विदेशीहरू सोलो प्याराग्लाइडिङका लागि आउन छोडेका छन् । यसबाट पोखराले यस प्रकारका पर्यटक गुमाएको अवस्था छ। अब हाम्रो उद्देश्य फेरि सोलो उडान सुरु गर्नु हो । प्यारापाइलट एवं पर्यटकहरूलाई पुनः पोखरामा आकर्षित गर्न यो जरुरी पनि छ । यसका लागि अहिले ट्यान्डम फ्लाइटका लागि विभिन्न नीतिगत व्यवस्थापनहरू बनाइए जसरी नै सोलो फ्लाइटका लागि पनि नीतिगत रूपमै व्यवस्था गर्न जरुरी छ । यो कार्यलाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।
के पोखराको प्याराग्लाइडिङलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ?
पोखराको प्याराग्लाइडिङ विश्वकै शीर्ष १० गन्तव्यभित्र पर्छ। अहिले प्याराग्लाइडिङ क्षेत्र पनि प्रविधियुक्त बनिसकेको छ । अहिले पनि विभिन्न मापदण्ड पूरा गर्दै प्याराग्लाइडिङ चलिरहेका छन् । यस क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने हो भने विगतको तुलनामा अझ बढी पर्यटक ल्याउन सकिन्छ । त्यसो गर्न सकिए नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै राम्रो सन्देश जान्छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको अवस्थामा प्याराग्लाइडिङ सञ्चालनमा केही समस्या आएको छ। यसबाट हाम्रो उडान क्षेत्र सीमित भएको छ । यसका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा, विमानस्थलको योजना मिलाउने, प्रविधिको प्रयोगलगायतले प्याराग्लाइडिङ क्षेत्रलाई फराकिलो बनाउने योजना मैले बनाएको छु ।
हामीले पोखराबाहेक पनि नेपालका अन्य धेरै ठाउँहरूमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने प्रयास नगरेका होइनौं । तर, अन्यत्र यस स्तरको प्याराग्लाइडिङ र यसप्रतिको आकर्षण कम भयो । त्यसैले अब पोखरामै प्याराग्लाइडिङको विकासका लागि यसको दायरा बढाउन जरुरी छ ।
जिपिएस ट्याकिङका विषयमा के योजना बनाउनुभएको छ ?
अहिले प्याराग्लाइडिङमा प्रयोग भइरहेको जिपिएस प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । प्राविधिक समस्याहरू धेरै छन् । तर, पनि यसलाई सुधार गर्दै प्याराग्लाइडिङको व्यवस्थित सञ्चालनका लागि विभिन्न कार्यहरू गर्दै आएका छौं ।
अहिले कुनै पनि प्यारापाइलट मापदण्डविपरीत आफ्नो दायराभित्र गएपछि प्राविधिक कक्षमा सूचना आउने भएकाले सोही आधारमा तत्कालै कक्षबाट निर्देशन दिने र पछि कार्यालयमा बोलाएर स्पष्टीकरण सोधी आवश्यक कारवाही गरिरहेका छौं । भविष्यमा यस प्रविधिलाई थप विकास गर्दै प्याराग्लाइडिङका रुट अनलाइनमार्फत सर्वसाधारणले पनि हेर्न सक्ने गरी व्यवस्था गर्ने योजनामा छौं ।
विगतमा सोलो प्याराग्लाइडिङ प्रतियोगिताहरूको आयोजना गर्दा प्याराग्लाइडिङ प्रतिस्पर्धा सकिएपछि चिप कम्प्युटरमा राख्ने बित्तिकै सबै जानकारी ट्याक गर्ने किसिमको जिपिएसको प्रयोग गर्ने गरेका थियौं । तर, अहिले प्राविधिक कक्षबाटै कुन पाइलट कहाँ उडिरहेको छ, कुन दिशामा गइरहेको छ, लगायतको सबै जानकारी पाउँछौं ।
खपौदीमा ‘इन्ड अफ लेक ल्यान्डिङ’ का विषयमा के भइरहेको छ ?
अहिलेसम्मको अनुसन्धानको आधारमा हेर्ने हो भने खपौदीको इन्ड अफ लेक ल्यान्डिङ प्याराग्लाइडिङ ल्यान्डिङका लागि सबैभन्दा उपयुक्त ठाउँ हो ।
खपौदी इन्ड अफ लेक जुन ठाउँबाट उडान भरे पनि ल्यान्डिङका लागि सहज छ। अहिलेको परिस्थितिमा त्यहाँको नक्सा कोर्ने क्रममा इन्ड अफ लेक नक्साभन्दा थोरै बाहिर परेको छ ।
एउटा ग्लाइडर एक हजार ६ सय मिटरबाट उडेर आइसकेपछि ल्यान्डिङसम्म आइपुग्दा पाइलट ५० मिटरभन्दा धेरै उचाइमा हुँदैनन् । यस्तो अवस्थामा साना तथा ठूला कुनै पनि जहाज छिर्न सक्ने अवस्था हुँदैन ।
खपौदीको इन्ड अफ लेक ल्यान्डिङको रेड जोनभन्दा बाहिरका कुराहरू हाम्रो मातहतमा पर्दैनन् । तसर्थ, प्राविधिक रूपमा उचाइ र पाइलटले अपनाउनुपर्ने मापदण्ड तोकिने हो भने प्याराग्लाइडिङ ल्यान्डिङका लागि खपौदीको इन्ड अफ लेक ल्यान्डिङ नै सबैभन्दा उपयुक्त ठाउँ हो ।
हरेक दृष्टिकोणले खपोदी नै ल्यान्डिङका लागि उपयुक्त हुनुको अर्को मुख्य कारण भनेको यहाँको हावाको मन्द बहाव पनि हो । अहिले पामेलाई ल्यान्डिङ स्टेशन बनाएका छौं । जहाँ अहिले घरहरू बनेका छैनन् । त्यसैकारण ल्यान्डिङका लागि सहज छ । तर, एउटा मात्र घर बन्ने वित्तिकै पनि त्यो ठाउँ ल्यान्डिङका लागि असुरक्षित हुन्छ । त्यसकारण नेपाल सरकारको तर्फबाट नै हाम्रो लागि इन्ड अफ लेक ल्यान्डिङ खुला गरिदिएमा धेरै राम्रो हुन्थ्यो । अहिलेसम्म हामीले हाम्रै संस्थाको अधीनमा रहेर संस्थागत हिसाबले विभिन्न विकासका कार्यहरू गर्दै आएका छौं । सरकारको सहयोग पायौं भने अन्तर्राष्ट्रिय प्यारापाइलटका लागि नेपाललाई आकर्षक गन्तव्य बनाउन सकिन्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
धेरै चुनौती छन्, तर म आफूले सकेसम्म सबैलाई मिलाएर यहाँको प्याराग्लाइडिङ क्षेत्रको विकासमा काम गर्न चाहन्छु । अहिले जुन जति नीति निर्माण भइसकेका छन्, त्यसलाई थप प्रभावकारी बनाउन र नीतिगत रूपमै सुधार गर्नका लागि सरकारसँग सहकार्य गरेर काम गर्न जरुरी छ ।अन्त्यमा, सबैको सहयोग आवश्यक छ ।