सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ । नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ ।
कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रम : दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।