बेगनास र रुपाको पानी मिसाएर विद्युत उत्पादन गरिने


rupa tal, pokhara

पोखरा । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा ताल पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ ।

विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए ।

उक्त जलासययुक्त आयोजनाबाट एक सय ५० मेगावाट जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो । विसं २०७४ मा सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो ।

बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युत्गृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ ।

उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिए ।

बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा विद्युत्गृह सञ्चालन गर्न सजिलो भएको छ ।

दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ ।

बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ ।

स्थानीय सरकोकारवालाले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्ने स्थानीयको माग छ ।

स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने, सिञ्चाइ नै बन्द हुने गरी आयोजना सञ्चालन गर्न नहुने बताएका छन् । साथै उनले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्ने बताए ।

७ आश्विन २०७९