२७औँ पोखरा सडक महोत्सव डिसेम्बर २८ देखि, पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका


अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (REBAN), पोखरा च्याप्टर को आयोजनामा २७औँ पोखरा सडक महोत्सव डिसेम्बर २८ देखि जनवरी १ सम्म सञ्चालन हुने भएको छ। पोखराको लेकसाइड क्षेत्र केन्द्रित करिब तीन किलोमिटर क्षेत्रमा आयोजना हुने महोत्सवले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

“सडकमा खानपान, सडकमा नाचगान, सडकमा रमाइलो” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कला–संस्कृति, लाइभ संगीत, मौलिक नेपाली तथा अन्तर्राष्ट्रिय खानाका परिकार, हस्तकला र स्वदेशी उत्पादनको प्रदर्शनी तथा बिक्री गरिने आयोजक REBAN पोखरा च्याप्टरले जनाएको छ।

पोखराको पर्यटनमा सडक महोत्सवको योगदान

दुई दशकभन्दा लामो इतिहास बोकेको पोखरा सडक महोत्सवले पोखराको पर्यटन विकासमा निरन्तर योगदान दिँदै आएको छ। विशेषगरी अंग्रेजी नयाँ वर्ष मनाउन आउने विदेशी पर्यटकलाई पोखरामा आकर्षित गर्दै सहरलाई केवल ‘ट्रान्जिट’ नभई अन्तर्राष्ट्रिय स्तरको प्रमुख गन्तव्य (Destination for English New Year) का रूपमा स्थापित गर्न महोत्सवले भूमिका खेलेको छ।

महोत्सव अवधिमा होटल, रेस्टुरेन्ट, बार, ट्राभल एजेन्सी, साहसिक पर्यटन व्यवसाय, यातायात सेवा, हस्तकला तथा स्थानीय उत्पादनको कारोबार उल्लेख्य रूपमा बढ्ने गरेको छ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै रोजगारी सिर्जना र साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको छ।

पोखरालाई प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक रूपमा ‘ओपन म्युजियम’ झैँ प्रस्तुत गर्ने यस महोत्सवले पर्यटकको बसाइ अवधि लम्ब्याउन र पर्यटन खर्च बढाउन सहयोग पुर्‍याएको पर्यटन व्यवसायीहरूको भनाइ छ। कोभिड–१९ पछिको पर्यटन पुनरुत्थानमा समेत यस महोत्सवले सकारात्मक सन्देश दिने विश्वास लिइएको छ।

आयोजकका अनुसार २७औँ संस्करणलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउँदै पोखराको पर्यटन ब्रान्डलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

२ पुष २०८२