फेब्रुअरी महिनामा नेपाल आए ७३ हजार वढी पर्यटक


टुरिजम पाना काठमाडौं । १७ फाल्गुन २०७९
Everest tourist

सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो। सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डले जनाएको छ ।

फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन्। अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, थाइल्यान्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अस्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलंकाबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्लो तथ्यांकले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य संख्यामा पर्यटक आएको देखिन्छ।

१७ फाल्गुन २०७९