विश्व सम्पदा दिवस मनाइँदै


टुरिजम पाना काठमाडौँ । ५ बैशाख २०८२
Basantapur Durbar Squire

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्को अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ ९वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू०, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् ।

सम्पदा प्रभाव मूल्याङ्कन गरिने

सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए। सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको उनले बताए ।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

५ बैशाख २०८२