भारत र चीनबाट वार्षिक एक करोड पर्यटक भित्र्याए अर्थतन्त्र कायापलट हुन्छ : पूर्वअर्थमन्त्री पाण्डे


पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको आर्थिक समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको बताउँदै छिमेकी मुलुक भारत र चीनका मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर अघि बढेमा देशको अर्थतन्त्रले कायापलट गर्नसक्ने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भारत र चीनबाट वार्षिक ५०/५० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी तर सम्भव लक्ष्य राखेर अघि बढ्नुपर्नेमा जोड दिए । यस्तो लक्ष्य हासिल गर्न सके नेपालको आर्थिक अवस्थामा अभूतपूर्व परिवर्तन आउने उनको जिकिर छ । ‘नेपालको सबैभन्दा ठूलो स्रोत भविष्यमा पर्यटन नै हो । धेरै धनी पर्यटकभन्दा पनि नजिकका छिमेकी, विशेषगरी भारत र चीनका मध्यमवर्गीय पर्यटक हाम्रो मुख्य सम्भावना हुन् । उनीहरू नै धेरै संख्यामा घुम्न निस्किन्छन्,’ उनले भने ।

उनले यसका लागि सबैभन्दा ठूलो चुनौती र अवसर पर्यटन पूर्वाधार निर्माणमा रहेको औंल्याए । ‘यदि १० देखि १५ वर्षसम्म लगातार ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक आउने स्थिति बन्यो भने नेपालको अर्थतन्त्र कहाँ पुग्ला ? यो सम्भव छ, तर हामीसँग उनीहरूलाई धान्नसक्ने पूर्वाधार छैन,’ पाण्डेले भने, ‘अबको हाम्रो दाबी पर्यटन, त्यसमा पनि छिमेकको पर्यटनमा हुनुपर्छ ।’

उनले ठूला र असम्भव कुरामा अल्झिनुभन्दा छिमेकी पर्यटकलाई आकर्षित गर्ने ठोस योजना र पूर्वाधार निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए । पर्यटनका साथै कृषि क्षेत्रलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

११ असार २०८२