काठमाडौंबाट करिब १४० किलोमिटर दुरीमा अवस्थित जुगल गाउँपालिकाको शिरमा रहेको जुगल हिमशृंखलाको एक चुचुरो जुगल–५ सफलतापूर्वक आरोहण गरिएको छ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाका अनुसार आइतबार बिहान यूकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोलीले ५,९२२ मिटर उचाइको जुगल–५ हिमाल सफलतापूर्वक आरोहण गरेको हो। ‘आज बिहान साढे सात बजे उनीहरूले स्याटेलाइटमार्फत चुचुरोमा पुगेको जानकारी दिएका छन्,’ अध्यक्ष थापाले भने । जुगल हिमशृंखलाका ११ चुचुरोमध्ये दुई चुचुरो आरोहण गर्ने लक्ष्यसहित सात अन्तर्राष्ट्रिय पर्वतारोही हाल क्षेत्रमै रहेका छन्।
उता स्कटल्याण्डका विश्वप्रसिद्ध पर्वतारोही तथा लेखक लिओ हाउल्डिङको नेतृत्वमा नर्वेका हेनरिक बर्गसेनसहितको टोली अहिले जुगल–४ आरोहणको तयारीमा रहेको छ। ‘उनीहरू हाल हाईक्याम्पमा छन्, दुई दिनभित्र आरोहण गर्ने तालिका छ,’थापाले भने ।
थापाका अनुसार यो अभियानले सिन्धुपाल्चोकको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिनेछ।
उनकै पहलमा आएको टोलीले क्रमशः ५,९३६ मिटरको जुगल–४ र ५,९२२ मिटरको जुगल–५ आरोहण गर्ने कार्यक्रम बनाएको हो। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गाउँपालिकाले पर्वतारोहण टोलीलाई आवश्यक सम्पूर्ण सहयोग गरिरहेको छ।
थापा पछिल्ला वर्षयता पाँचपोखरी र जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय छन्। यसअघि जुगल हिमशृंखलाको ६,१५१ मिटर उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ। २०८१ साल वैशाख २३ गते नेपाल–कोरिया संयुक्त टोलीले जुगल–१ हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।








