पर्वतारोहणको उचाइमा नेपालको पर्यटन, राजस्व र रोजगारी दुवैमा उत्साहजनक वृद्धि


टुरिजम पाना काठमाडौँ । ३ मंसिर २०८२

पछिल्ला वर्षहरुमा पर्वतारोहण नेपाली पर्यटनको सबैभन्दा बलियो आधारका रूपमा उभिएको छ। पर्यटन विभागका अनुसार नेपालको कुल पर्यटन आम्दानीमा हिमाल आरोहणबाट प्राप्त आय कै प्रमुख हिस्सा रहने गरेको छ।

नेपालमा करिब ३ हजारभन्दा धेरै साना–ठूला हिमाल तथा पर्वत रहेका छन्। तीमध्ये धेरै हिमालमा पर्यटन तथा आरोहण गतिविधि संचालन हुँदै आएका छन्, जसले राज्यलाई वार्षिक करोडौँ रुपैयाँ कर तथा रोयल्टी आयसहित स्थानीय समुदायमा रोजगारी, व्यवसाय र सेवा–सुविधाको अवसर सिर्जना गरेको छ।

विदेशी र आन्तरिक पर्वतारोहीको बढ्दो आकर्षण

पछिल्ला तीन वर्षको तथ्यांकले पर्वतीय पर्यटनतर्फ आकर्षण उल्लेख्य रूपमा बढेको देखाएको छ। आन्तरिक र बाह्य दुवै पर्यटकको संख्या वृद्धि हुँदै जाँदा राज्यले हासिल गर्ने रोयल्टी आम्दानी पनि उकासिएको पर्यटन विभागले जनाएको छ। यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको विभागका निर्देशक हिमाल गौतम बताउँछन्।

उनका अनुसार २०२३ देखि २०२५ सम्मको तथ्यांक हेर्दा यस वर्ष आरोहण अनुमति लिनेको संख्या र संकलित राजस्व दुवै क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। ‘नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने मेरुदण्ड नै पर्वतीय पर्यटन हो,’ उनले बताए, ‘यो क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उच्च महत्वका साथ हेरिएको छ।’

पूर्वाधार र प्रविधि सुधार आवश्यक

डाइरेक्टर गौतमका अनुसार पर्वतीय पर्यटन अझै सबल बनाउन प्रविधिको प्रभावकारी प्रयोग, पूर्वाधार विस्तार, सडक तथा आधार शिविर पहुँच सुधार र नीतिगत परिमार्जन अत्यावश्यक छन्। उनले आगामी दिनमा थप पर्यटक आकर्षित गर्न पिकहरू खुला गर्ने, प्रचारप्रसार बढाउने तथा निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

शरद ऋतुमा रेकर्ड तोड्ने अनुमति

यो वर्ष शरद ऋतुमा मात्र ८३ देशका १९० टोलीले ६२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। यी टोलीका १,५३८ आरोहीबाट २६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। यो पछिल्ला तीन वर्षकै उच्च उपलब्धि हो।

यसअघि, २०२४ मा ७३ देशका १,२८० आरोहीले ४६ हिमालमा अनुमति लिएका थिए र ७ करोड ६३ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। २०२३ मा १,३२६ आरोहीले अनुमति लिएका थिए र ७ करोड ८१ लाख रुपैयाँ रोयल्टी उठेको थियो।

व्यवसायीलाई कर सुविधा भए पर्यटन अझै फस्टाउने

गौतमको भनाइमा होटल, लज तथा पर्यटनसम्बन्धी व्यवसायलाई कर छुट दिइने हो भने उनीहरू झन् सक्रिय हुँदै सेवा विस्तारमा जुट्नेछन्। यसले स्थानीय रोजगारी बढ्ने, पर्यटन प्रणाली बलियो बन्ने र समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास उन्हें छ।

नेपालको समृद्धिको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटन क्षेत्र अझै सम्भावनायुक्त छ। विशेषत: पर्वतीय पर्यटनलाई व्यवस्थित प्रवद्र्धन गर्न सके नेपालले विश्वका प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा आफ्नो पहिचान अझै प्रबल बनाउन सक्ने विभागको निष्कर्ष छ।

३ मंसिर २०८२