सरकारलाई निष्पक्ष निर्वाचनका लागि कडाइका साथ तयारी गर्न सुझाव


टुरिजम पाना काठमाडौँ । ५ मंसिर २०८२

बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्न सक्ने चेतावनी दिएको छ।

नागरिक समूहका अध्यक्ष बिष्णु हरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ। सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ।

जेन–जी समूह र दलहरू दुवैलाई संयमित हुन आग्रह

विज्ञप्तिमा जेन–जी समूहका नाममा कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको टिप्पणी गर्दै, यस्तो आचरणले अवस्था झन् जटिल बन्ने चेतावनी दिइएको छ। त्यसैगरी राजनीतिक दलहरूले पनि प्रतिवादका नाममा तनाव बढाउने कार्य नगर्न आग्रह गरिएको छ।

“संवेदनशील सुरक्षा परिस्थिति बिग्रिए फागुन २१ मा शान्तिपूर्ण निर्वाचन सम्भव नहुन सक्छ,” विज्ञप्तिमा उल्लेख छ, “जसले मुलुकलाई राजनीतिक शून्यतामा धकेल्न सक्छ।”

संवाद, संयमता र संवैधानिक मार्गतर्फ फर्कन आह्वान

नागरिक समूहले सरकार, राजनीतिक दल तथा जेन–जी युवाहरूलाई लोकतान्त्रिक मूल्य, संवैधानिक हक र शान्तिपूर्ण अभ्यासप्रति स्पष्ट प्रतिबद्ध हुन आग्रह गरेको छ।

चुनाव तोकिएपछि राजनीतिक दलहरूको गतिविधि बढ्नु स्वाभाविक भए पनि उक्साहट, भिडन्त र तनाव बढाउने गतिविधिबाट टाढा रहनु आवश्यक भएको समूहको निष्कर्ष छ। जेन–जी युवाहरूलाई पनि संविधानले दिएको अधिकारको सम्मान गर्दै शान्तिपूर्ण अभिव्यक्तिकै बाटो अपनाउन सन्देश दिइएको छ।

नागरिक समूहले आगामी फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव गराउनु सरकारको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै तत्काल राजनीतिक दलहरूबीच संवाद, चुस्त सुरक्षा व्यवस्था र अनावश्यक दमन नगर्ने नीति अपनाउन सुझाव दिएको छ।

“देशले भर्खरै ठूलो राजनीतिक परिवर्तन अनुभव गरेको छ। अहिलेका तनावपूर्ण घटनाले भविष्यमा दोहोरिन नदिन सबै पक्षले आत्मसमीक्षा गर्दै जिम्मेवार अभ्यास गर्न आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

समूहले परिस्थितिलाई सहज बनाउँदै लोकतान्त्रिक प्रक्रियाको रक्षा र निर्वाचन सफल बनाउन सबै पक्षसँग संवाद र सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ।

५ मंसिर २०८२