बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफालाई राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने लक्ष्यसहित स्थानीय सरकार सक्रिय बन्दै गएको छ। नेपालकै सबैभन्दा ठूलो मानिने यस गुफामा प्रचुर सम्भावना हुँदाहुँदै पनि अपेक्षित प्रचारप्रसार नहुँदा पर्यटक आगमन न्यून रहेको भन्दै गाउँपालिकाले नयाँ योजनासहित प्रवर्द्धन अभियान अघि बढाएको हो।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार पृथ्वीराजमार्गबाट करिब २० मिनेट पैदलयात्रामा पुगिने सिद्धगुफालाई प्रभावकारी ढंगले प्रचार गर्न सके बन्दीपुरको पर्यटनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। “जति प्रचार हुन्छ, गुफामा आगन्तुकको चहलपहल त्यति नै बढ्छ,” उनले भने, “यसले स्थानीयको आयआर्जनमा समेत प्रत्यक्ष प्रभाव पार्छ।”
गुफा परिसरको सौन्दर्यकरण तथा आवश्यक भौतिक संरचना निर्माणका लागि गाउँपालिकाले छुट्टै बजेट विनियोजन गरेको छ। सिँढी मर्मत, रङरोगन, आरामदायी बस्ने स्थान निर्माणजस्ता कामलाई प्राथमिकता दिइएको जनाउँदै अध्यक्ष थापाले धार्मिक तथा सांस्कृतिक महत्व बढाउने कार्यक्रम पनि अघि बढाइने बताए। बोलबम मेलाको गन्तव्यका रूपमा सिद्धगुफा स्थापित भइसकेको हुँदा यसको धार्मिक मूल्य पनि उच्च रहेको उनको भनाइ छ।
सिद्धगुफा विकास समिति लामो समयदेखि व्यवस्थापनमा रहे पनि हाल यसको गतिविधि सुस्त भएको भन्दै गाउँपालिकाले नयाँ अधिवेशन गर्न निर्देशन दिइसकेको छ। आवश्यक परे गाउँपालिकाले नै प्रत्यक्ष व्यवस्थापन संभाल्ने तयारी गरेको बताइन्छ।
गण्डकी प्रदेश सरकारको सहकार्यमा बन्दीपुर बजारदेखि गुफासम्म जोड्ने मार्गमा रेलिङ र ढुङ्गा छापिएका पदमार्ग निर्माण भएका छन्। नवप्रवर्तन साझेदारी कोषमार्फत एक करोडभन्दा बढी बजेटमा गुफा परिसरमा सौन्दर्यकरण गरिएको गाउँपालिकाले जनाएको छ। यसै वर्षका लागि मात्र १० लाख रुपैयाँ थप बजेट छुट्याइएको उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिइन्।
स्थानीयवासीका अनुसार गुफाको सुन्दरता अतुलनीय भए पनि प्रचार–प्रसारको अभावमा यसको वास्तविक पहिचान स्थापित हुन सकेको छैन। “अब पालिकाले पहल गरेपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्नेछ,” भीम घले भन्छन्।
गुफा अवलोकनका लागि पुगेका प्रेमप्रसाद पौडेलका अनुसार सिद्धगुफाको प्राकृतिक आकृतिहरू अत्यन्त आकर्षक छन्। पृथ्वीराजमार्ग नजिक भएकाले पनि यो स्थान सहज तथा उपयुक्त गन्तव्य बन्न सक्ने उनले बताए।
सिद्धगुफाको प्रवर्द्धन अभियानमा सञ्चारकर्मी पनि सक्रिय बनेका छन्। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले गुफाभित्रै बैठक सम्पन्न गर्दै प्रचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
इ.सं. २०४४ चैत १३ गते स्थानीयवासी तथा शिक्षकसमेत पाँच जनाको समूहले पहिलोपटक पत्ता लगाएको यो गुफा ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। करिब ३५ सय वर्ष पुरानो ठानिने ४५० मिटर लामो गुफाभित्र पञ्च–शताब्दीअघिका धातुका पैसा, माटाका भाँडाकुँडा तथा जनावरका दाँतजस्ता सामग्री भेटिएका छन्।
करिब आठ सय मिटर लम्बाइमा फैलिएको सिद्धगुफाभित्र चुनढुङ्गाबाट बनेका विभिन्न आकृतिहरू—देवतादेवी, चराचुरुङ्गीदेखि विविध प्राकृतिक मूर्तिसम्म—हेर्न पाइन्छ। पानी भए पनि चिप्लो नहुने विशेषताका कारण गुफाभित्र यात्रा गर्न सहज मानिन्छ।
सिद्धगुफालाई राष्ट्रिय स्तरमै आकर्षणको केन्द्र बनाउन स्थानीय सरकार, समुदाय र विभिन्न संस्थाहरूको सहकार्यमा अबको अभियान निर्णायक हुने देखिन्छ।








