चार महिनामा १६ हजारभन्दा बढी पर्यटक मनाङ भ्रमण गरे


फाइल तस्वीर

चालु आर्थिक वर्षका पहिलो चार महिनामा मनाङ पर्यटक आगमनका हिसाबले निकै सक्रिय देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार यस अवधिमा कुल १६ हजार २९६ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्।

एक्याप इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार १०७ देशका नागरिक मनाङ पुगेका छन्। तीमध्ये सार्क राष्ट्रबाट ८१२ पुरुष र १७७ महिला पुगेका छन्। अन्य मुलुकबाट आएका पर्यटकमध्ये ९ हजार ६९५ पुरुष र ६ हजार ६०१ महिला रहेका छन्।

देशवार आगमन हेर्दा इजरायलबाट आउने पर्यटक सबैभन्दा बढी रहेका छन्। चार महिनामा मात्रै १ हजार ९१० इजरायली नागरिक मनाङ पुगेका छन्। त्यस्तै, फ्रान्सबाट १ हजार ३९२ र जर्मनीबाट १ हजार २०८ पर्यटकले मनाङ भ्रमण गरेका छन्।

उच्च हिमाली भू–भाग, ट्रेकिङ मार्ग, धार्मिक–सांस्कृतिक स्थल र प्राकृतिक सौन्दर्य मनाङ आकर्षणको मुख्य कारण मानिन्छ। यस वर्ष मनाङमा पर्यटकको निरन्तर बढ्दो उपस्थिति आन्तरिक पर्यटन गतिविधि चाएकै संकेतका रूपमा हेरिएको छ।

१४ मंसिर २०८२