बुधबार बिहानदेखि पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो फैलिँदा जनजीवनसँगै हवाई सेवा प्रभावित भएको छ। विशेषगरी भिजिबिलिटी अत्यन्तै कमजोर भएपछि केही विमानस्थलमा उडान–अवतरणमा समस्या देखिएको हो।
हुस्सु–कुहिरोका कारण भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार भैरहवामा आज बिहान भिजिबिलिटी घटेर जम्मा १०० मिटरमा सीमित भएको छ, जसका कारण उडान सञ्चालनमा गम्भीर चुनौती देखिएको छ।
यस्तै, धनगढी र जनकपुरमा करिब ५०० मिटर, विराटनगरमा १ हजार मिटर, नेपालगञ्जमा १ हजार २०० मिटर र काठमाडौंमा करिब ६ हजार मिटरसम्म भिजिबिलिटी मापन गरिएको छ।
मौसमविद्हरूका अनुसार दिउँसोपछि घाम लाग्दै जाँदा हुस्सु–कुहिरो क्रमशः पातलिँदै जाने सम्भावना छ। दृष्यता एक किलोमिटरभन्दा बढी भए हुस्सु र सोभन्दा कम भए कुहिरो मानिने मौसम विज्ञानको परिभाषा छ। हुस्सु–कुहिरोले घामका किरण अवरुद्ध गर्ने भएकाले जमिन तात्न ढिलाइ भई चिसो बढी महसुस हुने गरेको मौसमविद्हरू बताउँछन्।








