पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला


टुरिजम पाना काठमाडौं । ४ पुष २०८२
bala chaturdashi pashupatinath

गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि आजदेखि खुला गरिएको छ।

सम्पदा बचाउ अभियानकर्मीको समूहले आज पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो।

अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले आजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो। करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो।

अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुसी जथाभावी गर्न थालेपछि त्यसो नगर्न सुझाव दिएको रायमाझीले बताए। सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको उनले सुनाए।

रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए।

 

 

४ पुष २०८२