सन् २०२५ को पहिलो ११ महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल आएका हुन्।
पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा ले जानकारी दिएअनुसार यस अवधिमा विश्वका विभिन्न १० प्रमुख मुलुकबाट उल्लेख्य संख्यामा पर्यटक नेपाल भित्रिएका छन्।
भारत शीर्ष स्थानमा
नेपाल भ्रमण गर्ने मुलुकहरूमध्ये सबैभन्दा धेरै पर्यटक छिमेकी राष्ट्र भारतबाट आएका छन्। ११ महिनाको अवधिमा भारतबाट मात्रै २ लाख ६२ हजार ३४५ जना नेपाल आएका छन्।
त्यसपछि अमेरिकाबाट १ लाख ५ हजार २३९, चीनबाट ८६ हजार ८००, बेलायतबाट ५४ हजार ४५० र बंगलादेशबाट ५० हजार ९४० जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।
यसैगरी, अस्ट्रेलिया (४४,३७७), श्रीलंका (३६,९६८), जर्मनी (२८,९७५) र थाइल्यान्ड (२५,८२४) बाट पनि उल्लेख्य संख्यामा पर्यटक आएका छन्। प्रमुख १० देशमध्ये फ्रान्सबाट २३ हजार ५०२ जना पर्यटक आएका छन्, जुन संख्या सबैभन्दा कम हो।
अघिल्लो वर्षको तुलनामा वृद्धि
पर्यटन आगमनको यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले वृद्धि भएको हो। सन् २०२४ को ११ महिनामा नेपाल आएका पर्यटकको संख्या १० लाख ५५ हजार ५२० थियो।
मासिक रूपमा हेर्दा, नोभेम्बर २०२५ मा मात्र १ लाख १६ हजार ५५३ पर्यटक नेपाल आएका छन्, जुन सन् २०२४ को नोभेम्बरको तुलनामा १.८ प्रतिशतले बढी हो।
‘जेनजी आन्दोलन’ बीच पनि सकारात्मक संकेत
‘जेनजी आन्दोलन’ को प्रभाव परे पनि पर्यटक आगमनमा सुधार देखिएको पर्यटन बोर्डले जनाएको छ। प्रवक्ता शर्माका अनुसार अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता, डिजिटल प्रचारप्रसार र सामाजिक सञ्जालमार्फत गरिएका प्रवर्द्धनात्मक कार्यक्रमले सकारात्मक परिणाम दिएको छ।
उनले भने, “आन्दोलनका कारण केही समय प्रभाव देखिए पनि सामाजिक सञ्जालमार्फत नेपालका प्रमुख गन्तव्यहरूको प्रवर्द्धनलाई तीव्र बनाउँदा पर्यटक संख्यामा सुधार आएको छ।”
पर्यटन बोर्डले कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै डिजिटल मार्केटिङलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, बोर्डले हाल काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्र, बौद्ध, स्वयम्भू, ठमेल, पोखरा लेकसाइड र चितवन लगायतका प्रमुख पर्यटकीय गन्तव्यबाट विशेष अवसरमा लाइभ प्रसारण गर्दै आएको छ।
यसका अतिरिक्त, विभिन्न एयरलाइन्ससँग सहकार्य तथा प्रमुख स्थानहरूमा होर्डिङ बोर्डमार्फत प्रचारप्रसार भइरहेको पर्यटन बोर्डले जनाएको छ।








