सुदूरपश्चिमको पहिचान बदल्दै अपी हिमाल, साहसिक पर्यटनको नयाँ केन्द्र


टुरिजम पाना कैलाली । ७ पुष २०८२

लामो समयसम्म ‘सुनेको तर नपुगेको’ गन्तव्यका रूपमा चिनिँदै आएको सुदूरपश्चिमको अपी हिमाल क्षेत्र अहिले साहसिक पदयात्रा र प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । योजनाबद्ध विकास र स्थानीय तहको सक्रियताले अपी हिमाल गाउँपालिकाले छोटो अवधिमै पर्यटन क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ ।

आर्थिक गतिविधिको सीमित विकल्प भएको यस गाउँपालिकाले पर्यटनलाई विकासको मुख्य आधार बनाउँदै अघि बढेको छ । निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा ट्रेकिङ मार्ग विस्तार, पूर्वाधार निर्माण र प्रचार–प्रसारलाई प्राथमिकता दिँदा अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको हो ।

गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा पर्यटन व्यवसायीका लागि तालिम, क्षमता विकास र सेवा गुणस्तर सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, होटल व्यवसायी, ट्रेकिङ गाइड, सवारी चालक तथा स्थानीय किसान प्रत्यक्ष रूपमा लाभान्वित हुन थालेका छन् । रैथाने बाली, स्थानीय परिकार र कृषि उत्पादनको माग बढेसँगै गाउँको उत्पादन बजारसम्म पुग्न थालेको छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

प्राकृतिक सौन्दर्यले भरिएको अपी हिमाल क्षेत्रमा ट्रेकिङ ट्रेल मर्मत, साइनेज तथा नक्सा निर्माण, होमस्टे र टी–हाउस सञ्चालकलाई तालिम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारीसमेत गरिएको छ ।

यात्राका दृष्टिले काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ । त्यहाँबाट दुई दिनको पदयात्रापछि बेसक्याम्प पुग्न सकिने सुविधा छ । बेसक्याम्पबाट अपी र नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौंबाट करिब ८ दिनको यात्रा अवधिमा अपी बेसक्याम्प भ्रमण सम्पन्न गर्न सकिने पर्यटन व्यवसायी बताउँछन् ।

७ पुष २०८२