कैलाली विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क संकलनको विषयमा देखिएको विवादले स्थानीय पर्यटन व्यवस्थापन प्रभावित बनेको छ। समन्वयबिनै नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाउँदा ताल क्षेत्रको संरक्षण, सेवा सुविधा र पर्यटक आवागमनमा अन्योल सिर्जना भएको हो।
नगरपालिकाले गत भदौमा प्रवेश शुल्क संकलनका लागि ठेक्का आह्वान गरेपछि सामुदायिक वन र स्थानीय सरोकारवाला निकाय असन्तुष्ट बनेका छन्। विगतदेखि संरक्षण र व्यवस्थापनमा सक्रिय निकायसँग छलफल नगरी प्रक्रिया अघि बढाइएकाले पर्यटनमैत्री वातावरण बन्न नसकेको उनीहरूको भनाइ छ।
ठेक्का पाएको निर्माण कम्पनीले रकम बुझाइसके पनि तीन महिनासम्म काम सुरु गर्न नपाउँदा ताल क्षेत्रमा पर्यटक सेवासम्बन्धी तयारी प्रभावित भएको छ। स्थानीय सामुदायिक वनले भने संरक्षणको जिम्मेवारी आफूहरूले सम्हाल्दै आएकाले प्रवेश शुल्क संकलनमा पनि उनीहरूको भूमिका हुनुपर्ने माग गरेको छ।
पर्यटनको ठूलो सम्भावना बोकेको घोडाघोडी तालमा यस्तो विवादले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण घट्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्। नगरपालिकाले भने सबै पक्षबीच छलफल गरी छिट्टै विवाद समाधान गरेर व्यवस्थित पर्यटन विकासको वातावरण बनाउने प्रतिबद्धता जनाएको छ।








