महाकाली नदीमा व्यावसायिक र्‍याप्फ्टिङ सुरु


टुरिजम पाना काठमाडौँ । २ चैत्र २०८२

नेपाल-भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्‍याप्फ्टिङ को व्यावसायिक सुरुआत गरिएको हो ।

सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा र्‍याप्फ्टिङ सञ्चालन सुरु गरिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट र्‍याप्फ्टिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत र्‍याप्फ्टिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा र्‍याप्फ्टिङ सञ्चालन हुने बताइएको छ । हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा र्‍याप्फ्टिङ बोट सञ्चालनमा ल्याइएका छन् ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक र्‍याप्फ्टिङ सुरु गरिएको बताए । उनका अनुसार सन् २०१७ मा महाकाली नदीको बहु उपयोग परियोजनाअन्तर्गत र्‍याप्फ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो । जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो ।

उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो । भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा र्‍याप्फ्टिङ सञ्चालन गर्दै आएका छन् ।

र्‍याप्फ्टिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी र्‍याप्फ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र र्‍याप्फ्टिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताए ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा र्‍याप्फ्टिङको राम्रो सम्भावना रहेको बताए । करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा र्‍याप्फ्टिङ व्यवसाय सञ्चालन गरिरहेका उनले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए ।

नेपाल पर्यटन बोर्डले पनि र्‍याप्फ्टिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले र्‍याप्फ्टिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताए ।

त्यस्तै दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि र्‍याप्फ्टिङको विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताएका छन् ।

२ चैत्र २०८२