हिमाल आरोहण व्यवस्थित र सुरक्षित बनाउन ट्रेकिङ एजेन्सीलाई पर्यटन विभागको नौ बुँदे निर्देशन


टुरिजम पाना काठमाडौँ । ५ चैत्र २०८२

हिमाल आरोहण गतिविधिलाई थप व्यवस्थित, पारदर्शी तथा सुरक्षित बनाउन पर्यटन विभागले ट्रेकिङ एजेन्सीहरूलाई लक्षित गर्दै परिपत्र जारी गरेको छ।

विभागले चैत ३ गते एक्सपिडिसन सञ्चालन गर्ने सबै ट्रेकिङ एजेन्सीहरूलाई लागू हुने गरी नौ बुँदे निर्देशन सार्वजनिक गरेको हो। सन् २०२६ को वसन्त ऋतु (स्प्रिङ सिजन) मा हुने हिमाल आरोहण गतिविधिहरूलाई नियमन र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यसहित उक्त परिपत्र जारी गरिएको विभागले जनाएको छ।

परिपत्रअनुसार हिमाल आरोहण अनुमति सम्बन्धी निवेदन कम्तीमा दुई दिनअघि नै प्रचलित नियमावलीबमोजिम विस्तृत विवरणसहित पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, निवेदनमा सहयोगी कर्मचारीहरूको पूर्ण विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ।

यसैगरी, आरोहण अनुमतिको निवेदन दर्ता गर्दा सरदार अनिवार्य रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ। आरोहणका क्रममा भएका उद्धारसम्बन्धी विवरणहरू समेत अनिवार्य रूपमा पर्यटन विभाग तथा पर्यटक प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने प्रावधान परिपत्रमा समेटिएको छ।

विभागले यी निर्देशनहरूको उद्देश्य हिमाल आरोहणलाई सुरक्षित, जिम्मेवार र व्यवस्थित बनाउनु रहेको जनाएको छ।

५ चैत्र २०८२