पर्यटन बोर्डको भिडियो प्रतियोगिता: वेलनेस पर्यटनमा नेपाल ब्रान्डिङ


टुरिजम पाना काठमाडौं । ८ बैशाख २०८३

नेपाललाई विश्वस्तरीय ‘आरोग्य पर्यटन गन्तव्य’का रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड ले अन्तर्राष्ट्रिय रिल भिडियो प्रतियोगिता सार्वजनिक गरेको छ। ‘हरेक फ्रेममा वेलनेस, हरेक कथामा नेपाल’ नारासहित सुरु गरिएको अभियानले नेपालको प्राकृतिक शान्ति, आध्यात्मिक ऊर्जा र परम्परागत उपचार पद्धतिलाई विश्वमाझ पुर्‍याउने लक्ष्य राखेको बोर्डले जनाएको छ।

प्रतियोगिताअन्तर्गत सहभागीहरूले २० सेकेन्ड अवधिको सृजनात्मक भिडियो तयार गरी आगामी मे १४ भित्र photonepal.org मा अपलोड गर्नुपर्नेछ। आवेदन प्रक्रिया अप्रिल १५ देखि खुला गरिएको छ।

प्रतियोगितामा सातै प्रदेशबाट उत्कृष्ट एक–एक जना छनोट गरिनेछ भने प्रत्येक विजेतालाई नगद ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जानकारी दिएको छ।

सहभागीहरूलाई हिमालयको शान्त वातावरण, योग तथा ध्यान अभ्यास, आयुर्वेद उपचार, स्पा तथा मसाज, आध्यात्मिक उपचार पद्धति र स्थानीय जीवनशैलीसँग जोडिएका वेलनेस अनुभवलाई भिडियोमार्फत प्रस्तुत गर्न आग्रह गरिएको छ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी ले नेपाल साहसिक पर्यटनका लागि मात्र नभई मानसिक, शारीरिक र आध्यात्मिक पुनर्ताजगी खोज्ने यात्रुहरूका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने बताए।

उनले सातै प्रदेशका मौलिक कथा र अनुभवले नेपाललाई नयाँ पुस्ताका सचेत तथा गुणस्तरीय पर्यटकमाझ थप लोकप्रिय बनाउने विश्वास व्यक्त गरे।

८ बैशाख २०८३