पोखरामा ‘अनुभव-केन्द्रित आतिथ्यता’ को उदय : टेम्पल बेल बुटिक होटलको सामाजिक प्रतिबद्धता

रक्तदानदेखि सांस्कृतिक कारीगरसम्म, पर्यटनलाई समुदायसँग जोड्ने प्रयास


टुरिजम पाना पोखरा । १९ बैशाख २०८३

 

पोखराको टेम्पल बेल बुटिक होटल एण्ड स्पाले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गर्दै परम्परागत वार्षिकोत्सवभन्दा फरक ढंगले ‘समुदायसँग जोडिएको पर्यटन’ को सन्देश दिएको छ ।

लेकसाइडमा अवस्थित होटलले अन्तर्राष्ट्रिय श्रमिक दिवस र बुद्ध जयन्तीको सन्दर्भ पारेर सामाजिक उत्तरदायित्व, सांस्कृतिक पहिचान र सेवा गुणस्तरलाई एउटै फ्रेममा राख्दै कार्यक्रमहरू सम्पन्न गरेको हो ।

वार्षिकोत्सवको सुरुआत रक्तदान कार्यक्रमबाट गरिएको थियो, जसमा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा कर्मचारी र स्थानीयको सहभागितामा ३५ युनिट रगत संकलन गरिएको छ । पर्यटन उद्योगले केवल आर्थिक गतिविधि मात्र होइन, सामाजिक जीवनमा पनि प्रत्यक्ष योगदान दिन सक्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको देखिन्छ ।

होटलले आफ्नो आन्तरिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै ७० जना कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरेको छ । सेवा उद्योगमा मानव संसाधन नै मुख्य आधार हुने सन्दर्भमा यस्तो अभ्यासले गुणस्तरीय आतिथ्यतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

यसैबीच, लेकसाइडको स्ट्रिट नम्बर १७ क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरी होटलले पर्यटन र वातावरणबीचको सम्बन्धलाई व्यवहारमै उतारेको छ । बढ्दो पर्यटक चापसँगै सरसफाइ र दिगोपनाको चुनौती बढिरहेका बेला यस्ता पहलहरू अर्थपूर्ण मानिएका छन् ।

वार्षिकोत्सवको अर्को चरणमा होटल निर्माणमा योगदान दिने काष्ठकला कर्मी, ढुंगा शिल्पकार, इन्टेरियर डिजाइनरलगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको सञ्चालक विश्वराज पौडेलले जानकारी दिएका छन् । यसले पर्यटन पूर्वाधार निर्माणमा देखिने ‘अदृश्य श्रम’ लाई पनि पहिचान दिने प्रयास गरेको छ ।

सन् २००८ मा हल्लनचोकबाट ‘चिल्ली बार एण्ड रेस्टो’ मार्फत पर्यटन क्षेत्रमा प्रवेश गरेका विश्वराज र भिष्मराज पौडेल दाजुभाइको संयुक्त लगानीमा सञ्चालनमा आएको यस होटलले नेपाली वास्तुकला, काष्ठकला र ढुंगाको कलालाई आधुनिक आतिथ्यतासँग जोडेको छ ।

होटल व्यवस्थापनका अनुसार, पाहुनालाई केवल बसाइ नभई ‘अनुभव’ दिने अवधारणामा केन्द्रित सेवा नै यसको मुख्य विशेषता हो । “हामीले शारीरिक विश्रामसँगै आत्मीय अनुभव दिन खोजेका छौं,” सञ्चालक भिष्मराज पौडेलले बताएका छन् ।

छोटो समयमै पोखरा को प्रतिस्पर्धी पर्यटन बजारमा अलग पहिचान बनाउन सफल यस होटलले अब ‘समुदायसँग जोडिएको दिगो पर्यटन’ लाई आफ्नो दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउने संकेत दिएको छ ।

१९ बैशाख २०८३