काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि एक निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखराबाट उडान भर्ने इच्छा देखाउँदै विमानस्थलको विस्तृत प्राविधिक निरीक्षण सम्पन्न गरिएको छ ।
फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको एक प्राविधिक टोलीले आइतबार विमानस्थलको स्थलगत निरीक्षण गर्नुका साथै सरोकारवालाहरूसँग गहन संवाद गरेको हो । लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला र विमानस्थलको प्राविधिक टोलीसँग झन्डै ६ घण्टा लामो गहन छलफल र सूक्ष्म निरीक्षण गरेको थियो ।
सो क्रममा टोलीले विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध प्राविधिक पक्षहरूको विस्तृत अध्ययन गरेको छ । निरीक्षण पश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग विशेष भेटघाट गर्दै आफ्नो प्रारम्भिक निष्कर्ष सुनाएको थियो ।
उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको जानकारी दिए ।
‘हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्यौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबीच दैनिक उडान सुरु गर्न इच्छुक छौँ’ उपाध्यक्ष लुकासले बताए । यसै सन्दर्भमा उनले अन्तर्राष्ट्रिय उडान सुरु गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यको समन्वयकारी भूमिका र निरन्तरको पहलकदमीको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो। । फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोडिनेछ । यसबाट पोखरा संसारका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ । जसले गर्दा युरोप, अमेरिका, र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन् ।
यस उडानलाई मूर्त रूप दिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका उच्च अधिकारीहरू र कम्पनीका नेपाली प्रतिनिधिहरू सहित मेयर आचार्यको उपस्थितिमा यसअघि नै पटक–पटक उच्च स्तरीय बैठकहरू सम्पन्न भइसकेका छन् ।
लामो समयदेखिको निरन्तर प्रयास, विस्तृत प्राविधिक निरीक्षण र सरोकारवालाहरू बीचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको मेयर धनराज आचार्यले बताए। उनका अनुसार फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखराका जनता र पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ ।
पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसेढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गरे । यो उडान सुचारु भएमा गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ भने संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ ।








