यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने


टुरिजम पाना काठमाडौं । २९ जेष्ठ २०८३
flydubai signs MoU for 75 Boeing 737 MAX Airplanes

दुबईस्थित राष्ट्रिय एयरलाइन्स फ्लाईदुबईले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार आगामी सेप्टेम्बर २३, २०२६ देखि दुबई–पोखरा नियमित उडान सेवा सुरु हुनेछ।

नयाँ सेवासँगै फ्लाईदुबई संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बनेको छ। सन् २००९ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपालमा सेवा दिँदै आएको कम्पनीले हालसम्म करिब ४० लाख यात्रुलाई सेवा प्रदान गरिसकेको जनाएको छ।

फ्लाईदुबईका प्रमुख कार्यकारी अधिकृत गैथ अल गैथले नेपाल कम्पनीका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुहरूलाई थप पहुँच र सहज कनेक्टिभिटी उपलब्ध गराउन पाउँदा कम्पनी गौरवान्वित रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी फ्लाईदुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुहरूलाई थप विकल्प र सहज यात्रा अनुभव प्रदान गर्ने बताउनुभयो। उहाँका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुक, मध्यपूर्व, युरोप तथा फ्लाईदुबईको विस्तृत अन्तर्राष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुहरूको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ।

अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ। नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो सेवा फ्लाईदुबई र एमिरेट्सबीचको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुनेछ। यसबाट यात्रुहरूले एउटै टिकटमा यात्रा, सामानको थ्रु–चेक–इन तथा विस्तृत अन्तर्राष्ट्रिय नेटवर्कमा सहज पहुँचको सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार दुबईबाट उडान नम्बर एफजेड–११६५ स्थानीय समयअनुसार दिउँसो १२ बजे प्रस्थान गरी साँझ ६ः१५ बजे पोखरा पुग्नेछ। त्यस्तै, उडान नम्बर एफजेड–११६६ साँझ ७ः१५ बजे पोखराबाट उडेर राति १० बजे दुबई पुग्ने तालिका रहेको छ।

फ्लाईदुबईले नयाँ सेवामार्फत नेपालप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपालको पर्यटन तथा आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

२९ जेष्ठ २०८३