आजदेखि देशभरका विमानस्थलमा यान्त्रिक परीक्षण उडान


टुरिजम पाना काठमाडौं । १ मंसिर २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाइको टोली नेपाल आइसकेको छ ।

कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडान गरिएको जहाजसहितको टोली हिजो नै भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । टोलीमा एरोथाइका पाइलट, इन्जिनियर तथा प्राविधिक छन् ।

भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाइको टोलीले आज गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ । काठमाण्डौ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुनेछ । टोलीले आज भैरहवास्थित गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ ।

शुक्रबार नेपालगञ्ज विमानस्थलमा परीक्षण उडान गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान गरिनेछ । यान्त्रिक परीक्षण उडान सफल भएको प्रतिवेदनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि योग्य मानिनेछ ।

१ मंसिर २०७९