बन्दिपुरलाई उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउने गाउँपालिकाको योजना

पर्यटनमा २० लाख र संस्कृति प्रवद्र्धनमा १० लाख बिनियोजन


टुरिजम पाना बन्दिपुर । १ मंसिर २०७९
फाइल तस्वीर

 

पहाडकी रानी भनेर चिनिने बन्दिपुर गण्डकी क्षेत्रको मात्र नभई देशभरकै प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँ रहेका परम्परागत शैलीका घर, भवन, बजार, आदिवासी जनजातिको परम्परागत संस्कृति मुख्य आकर्षण हो ।

यसका साथै थानिमाई मन्दिर, सिद्धगुफा, मिनि ग्रेट वाल र प्याराग्लाइडिङले सबै पर्यटकलाई लोभ्याउँछ । साना ठूला गरी १२४ वटा होटल तथा १० वटा सामुदायिक घरवास (होमस्टे) छन् । बन्दिपुर नेवारी कला र संस्कृतिका लागि पनि प्रसिद्ध मानिन्छ । पहाडी दृश्य र संस्कृतिका लागि बन्दिपुर उपयुक्त गन्तव्य हो ।

जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दिपुरलाई अझ सम्बद्र्धन र प्रवद्र्धन गरी उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउने योजना बन्दिपुर गाउँपालिकाले बनाएको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न बन्दिपुर गाउँपालिकाले ६ वटा वडामा पर्यटकीय स्थलहरुको दिगो विकास गरी संरक्षण, सम्बद्र्धन गर्ने योजना बनाएको अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकालाई पर्यटकीय केन्द्र निर्माण गर्ने र पर्यटन ऐन बनाई नियमन पनि गरिने भएको छ । यसका साथै बन्दिपुर बजारलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्ने, पालिकाभित्रका पर्यटकीय गाउँलाई नमुनाको रुपमा विकास गर्दै लैजाने, पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र संगठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गर्ने गरी गाउँपालिकाले नीति तथा योजना अघि सारेको अध्यक्ष थापाले बताए ।

उनका अनुसार बन्दिपुर क्षेत्रमा उज्यालो गाउँ अभियान सञ्चालन गर्ने, शिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लांकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुकेलगायतका क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्ने, होमस्टे सर्किटको विकास गर्ने, सहासिक पर्यटन जिप फ्लाइङ, प्याराग्लाइडिङ्ग र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गर्ने पनि यस वर्षको योजनामा समावेश छ । साथै मुकुन्देश्वरी पदमार्गको निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन, साइक्लिङजस्ता प्रतियोगिताको आयोजना गर्ने, बन्दिपुर बजारमा रहेका विन्धवासिनी मन्दिरबाट भैसेखार, खड्गमाई र टुडिखेलसम्म ढुंगा छापेर पदमार्ग सहज बनाइनेछ ।

पालिकाले आर्थिक वर्ष २०७९/८० मा पर्यटन शिर्षकमा २० लाख र संस्कृति प्रवद्र्धनमा १० लाख बजेट बिनियोजन गरेको छ । यो बाहेक ३ किलोमिटरको मुकेन्देश्वरी पर्खालको निर्माणका लागि केन्द्रबाट २ करोड ६० लाख बजेट बिनियोजन गरेर काम भइरहेको छ । अहिलेसम्म पर्खाल करिब १ किलोमिटर निर्माणसम्पन्न भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

१ मंसिर २०७९