भोजपुरमा अरुण डाँडा महोत्सव सुरू


टुरिजम पाना भाेजपुर । २२ मंसिर २०७९
arun dada mahotsav

पर्यटन प्रवर्द्धनका लागि बिहीबारदेखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ सुरू भएकाे छ ।

‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा १ को अरुण डाँडामा छ दिनसम्म महोत्सवको आयोजना गरिएकाे हाे ।

महोत्सवमा आगन्तुकलाई लक्षित गरी स्थानीय जातजातिका खानाका परिकार, कृषि सामग्री तथा उत्पादन प्रदर्शनी गरिनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने अरुण प्रवर्द्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले जानकारी दिए ।

महोत्सवमा पर्यटन प्रवर्द्धन गर्नेगरी विभिन्न सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कृति झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा स्थानीयवासीको कृषि उत्पादन प्रदर्शन गरिने उनको भनाइ छ ।

महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने तथा यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा प्रत्यक्ष लाभ पुग्ने समितिका सचिव सरोज चाम्लिङ राईले विश्वास व्यक्त गरे ।

२२ मंसिर २०७९