विमानस्थलभित्रका पसल सस्तो बनाउने उपाय खोज्ने समिति नै अलमलमा


टुरिजम पाना संवाददाता काठमाडौं । २८ मंसिर २०८०

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका पसल कसरी सस्तो बनाउने भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै उत्तर दिन सकेको छैन ।

महँगो रकममा भाडामा दिएका पसललाई  सस्तो मूल्यमा सामान बेच्न लगाउने आधार खोज्न नस्व्क्दा  प्राधिकरण आफैँ अलमलमा परेको हो।

दुई महिनाअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलभित्रका पसल निकै महँगो भएको भन्दै सस्तो हुने बाटो खोज्न प्राधिकरणलाई निर्देशन दिएका थिए। त्यसपछि प्राधिकरणले उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो।

तर समितिले मन्त्रीले भनेजस्तो पसललाई सस्तोमा सामान बेच्ने लगाउने उपाय फेला पार्न सकेको छैन। ‘हामी आफैंले धेरै रकम तिर्न तयार हुनेलाई भाडामा दिएका हौं। भाडाचाहिं धेरै लिने अनि सस्तोमा बेच भनेर कसरी भन्ने?,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘महँगो भाडा लिएका पसललाई बजारकै मूल्यमा सामान बेच भन्न हामीलाई अप्ठेरो छ।’

महँगो भाडाका कारण विमानस्थलमा सञ्चालित पसलले सामान महँगोमा बेच्ने गरेका छन्। ‘हामीले के आधारमा मूल्य तय गर्ने भन्नेमा हामी अलमलमा छौं,’ भुलले भने। अलमलकै कारण समितिले सुझाव दिन सकेको छैन।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय परिसरमा ३० वटा पसल छन्। प्राधिकरणले पसल चलाउन टेण्डरमार्फत पाँच वर्षका आफ्नो ठाउँ भाडामा दिएको हो। पसल सञ्चालकले ठाउँ अनुसार मासिक १ लाख रुपैयाँसम्मका दरले भाडा बुझाइरहेको प्राधिकरणले जनाएको छ।

२८ मंसिर २०८०