अन्नपूर्ण संरक्षण क्षेत्र : बढ्दो प्राकृतिक आकर्षणसँगै पर्यटक आगमन नयाँ उचाइमा


टुरिजम पाना गण्डकी । १८ मंसिर २०८२

प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताका कारण विश्वभर चिनिएको पोखरासहित पूरै गण्डकी प्रदेश पछिल्ला वर्षमा साहसिक तथा प्रकृति पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

यस क्षेत्रमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) भने स्वदेशी तथा विदेशी यात्रुहरूलाई सबैभन्दा बढी आकर्षित गर्ने प्रमुख क्षेत्रका रूपमा निरन्तर अघि बढिरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रविन कडरियाका अनुसार ७,६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो संरक्षण क्षेत्र कास्की, म्याग्दी, मुस्ताङ, मनाङ र लमजुङका उत्तरी भूभाग समेटेर बनेको छ।

हिमाल, हिमनदी, छहरा, झरना, गहिरा उपत्यका, लालीगुराँसका जंगल, अनौठो भू–बनावट र विविध सांस्कृतिक परम्पराले यस क्षेत्रको पहिचान विश्वभर फैलिएको उनी बताउँछन्।

कडरियाका अनुसार पछिल्लो वर्ष सबैभन्दा धेरै भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्, जसको संख्या ४५ हजारभन्दा बढी छ। उनीहरुपछाडि बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया र मलेसियाका पर्यटक क्रमशः धेरै आएका छन्।

विश्वका उत्कृष्ट पदमार्गमध्ये अन्नपूर्ण ट्रेक

अन्नपूर्ण क्षेत्र विश्वका शीर्ष १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण सर्किटका कारण झनै चर्चित छ।
अन्नपूर्ण I (८,०९१ मिटर) को १९५० मा मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको ऐतिहासिक आरोहणपश्चात् यो क्षेत्र अन्तर्राष्ट्रिय रूपमा चिनिन थालेको इतिहास छ।

चार हजार १३० मिटरमा रहेको अन्नपूर्ण बेस क्याम्प–तर्फ १९६६ मा प्रख्यात पदयात्री एरिक सिप्टनको यात्रा पछि यस क्षेत्र पदयात्राका लागि खुला गन्तव्यका रूपमा झनै लोकप्रिय भयो।

पदयात्रा छोटिँदै, बसाइँ अवधि घट्दै

सडक विस्तारसँगै २१ दिन लाग्ने राउन्ड अन्नपूर्ण पदमार्ग अहिले १२–१३ दिनमै पूरा गर्न सकिने भएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार यात्रीहरूलाई ‘हाइ अल्टिच्युड’ समस्या कम हुने भए पनि पदमार्गको अव्यवस्थित विस्तारले लामो यात्रामा रुचि राख्नेहरूको बसाइँ अवधि घट्दै गएको छ।

उनी भन्छन्, “यदि वैकल्पिक पदमार्गहरू समयमै विकास गरिएन भने लामो पदयात्रा चाहने पर्यटक अन्य गन्तव्यतर्फ मोडिन सक्छन्।”

नयाँ आकर्षण: कपुचे हिमताल र नर्थ बेस क्याम्प

कास्कीको मादी गाउँपालिकामा अवस्थित नेपाली कम उचाइको कपुचे हिमताल पछिल्लो समय अत्यधिक लोकप्रिय भएको छ। मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार यहाँ आउने स्वदेशी तथा विदेशी यात्रुको संख्या तीव्र रूपमा बढिरहेको छ।

त्यसैगरी म्याग्दी क्षेत्रतर्फको अन्नपूर्ण नर्थ बेस क्याम्प पनि नयाँ वैकल्पिक गन्तव्यका रूपमा वृद्धिमुख छ।

 

१८ मंसिर २०८२