भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने


टुरिजम पाना संवाददाता काठमाडौं । ४ भाद्र २०८०
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।

उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले अतिविशिष्ट/विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको जानकारी दिए ।

यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने छ ।

तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

४ भाद्र २०८०