चितवन राष्ट्रिय निकुञ्जले दसैंमा उठायो १ करोड ८५ लाख राजश्व


टुरिजम पाना संवाददाता चितवन । १२ कार्तिक २०८०
तस्वीर: बाराही जंगल लज, मेघौली

 

चितवन राष्ट्रिय निकुञ्जले दसैंको समयमा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ ।

दसैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

सौराहा, कसरा, मेघौली, माडी, अमलटारी(नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् ।

सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र प्रवेश गरेका थिए । निकुञ्जले जीपबाट मात्रै ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ ।

निकुञ्ज भ्रमण गर्नेमा सौराहा सेक्टरबाट सबैभन्दा बढि पर्यटक छन् । यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले निकुञ्ज भ्रमणमा गएका थिए । सौराहा क्षेत्रबाट मात्रै झण्डै ८८ प्रतिशत पर्यटक निकुञ्ज गएको देखिन्छ । नेपालीबाट निकुञ्ज जाँदा प्रति ब्यक्ति १५०, विदेशीलाई २ हजार, सार्क देशका पर्यटकलाई १ हजार, प्रत्येक जीपलाई एकपटक भित्र जाँदा ५ हजार लिने गरिन्छ ।

१२ कार्तिक २०८०