क्रिकेट उत्सव २०२५, नेपाली क्रिकेटको उत्थानका लागि सेलिब्रेटीहरू एकजुट हुँदै


टुरिजम पाना काठमाडौँ । २१ कार्तिक २०८२

नेपालमा पहिलोपटक आयोजना हुन लागेको सेलिब्रेटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ आगामी नोभेम्बर ८ गते पाकिस्तान दूतावास क्रिकेट मैदान, धुम्बाराहीमा हुने भएको छ। भीएस नेटवर्कको आयोजनामा हुने यो विशेष २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित हस्तीहरू एकै मञ्चमा उत्रिने भएका छन्।

आयोजकहरूका अनुसार ‘क्रिकेट उत्सव २०२५’ को उद्देश्य मनोरञ्जनसहित राष्ट्रिय एकता र गौरवको भावना जगाउँदै देशभर आधारस्तरीय क्रिकेटको विकासलाई समर्थन गर्नु हो। “क्रिकेट उत्सव खेल मात्र होइन । यो एकता, मनोरञ्जन र नेपाली क्रिकेटको अजेय उत्थानको उत्सव हो। सँगै आएर हामी खेल मात्र खेल्दैनौं; नेपालमा क्रिकेटको भविष्य निर्माण गर्दैछौं।” आयोजकले बताएका छन् ।

सेलिब्रेटी टोलीमा चर्चित कलाकार सुनील थापा, कवि विप्लव प्रतीक, आनन्द कार्की, प्रमोद खरेल, राजा राजेन्द्र पोखरेल, मास्टर शेफ सन्तोष शाह, सञ्चारकर्मी सुशील नेपाल, विवेक सिंह ठकुरी, विवेक खतिवडा लगायत अनेक चर्चित नामहरू रहनेछन्।

कार्यक्रममा लाइभ कमेन्ट्री, हाफटाइम सेलिब्रेटी डान्स मेड्ले, फ्यान जोनलगतयत विभिन्न रमाइला कार्यक्रम पनि गरिनेछ । आयोजकका अनुसार कार्यक्रममा करिब १,००० देखि ३,००० दर्शक उपस्थित हुने र युट्युब तथा फेसबुक लाइभमार्फत करिब १ लाखभन्दा बढी दर्शकले हेर्ने अपेक्षा गरिएको छ।

यस महोत्सवले खेलकुद र मनोरञ्जनबीचको सहकार्यलाई नयाँ उचाइमा पु¥याउँदै नेपाली क्रिकेटको उत्साह र एकतालाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

२१ कार्तिक २०८२