प्रतिनिधि सभा निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडान सेवा बन्द हुने भएका छन्। नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै सो जानकारी दिएको हो।
बोर्डका अनुसार निर्वाचनका दिन आन्तरिक उडान स्थगित गरिए पनि अन्तर्राष्ट्रिय उडानहरू भने नियमित तालिकाअनुसार सञ्चालन हुनेछन्। निर्वाचन अवधिभर नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहने बोर्डले स्पष्ट पारेको छ। यसका लागि सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको पनि जनाइएको छ।
पर्यटकको आवागमनलाई सहज बनाउन बोर्डले निर्वाचनको दिन विमानस्थल–होटेल तथा होटेल–विमानस्थल सटल बस सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिस पत्र दिने व्यवस्था गरेको छ। यसका लागि सम्पर्क व्यक्ति समेत तोकिएको बोर्डले जनाएको छ।
यस्तै, निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै देशका प्रमुख सीमानाका बन्द गरिने सूचनामा उल्लेख छ। तथापि, निर्वाचनकै दिन देशभरका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थलहरू भने खुला रहने जनाइएको छ।
पर्यटक तथा यात्रुहरूलाई यात्रा योजना बनाउँदा सोहीअनुसार व्यवस्था मिलाउन बोर्डले आग्रह गरेको छ।








