पुष १७ देखि उपत्यकाका तारे होटेलमा विदेशी नागरिक व्यवस्थापन प्रणाली लागु गरिने


टुरिजम पाना काठमाडौँ । ८ पुष २०८२

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै पुष १७ गते (सन् २०२५ जनवरी १०) देखि उक्त प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ। पहिलो चरणमा यो प्रणाली काठमाडौँ उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ।

दोस्रो चरणमा भने फागुन १७ गते (सन् २०२६ मार्च १०) देखि देशभरका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा प्रणाली लागू गर्ने कार्य योजना रहेको विभागले जनाएको छ। त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस तथा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सार्वजनिक र निजी संस्थाहरूमा प्रणाली विस्तार गरिनेछ।

सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै निकायहरू प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। तर प्रणाली लागू हुने समय नजिकिँदै गर्दा हालसम्म दर्ता भएका निकायहरूको संख्या न्यून देखिएको भन्दै विभागले यथाशीघ्र प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ।

पहिलो चरणमा उपत्यकाका तारे होटेलहरूमा मात्र अनिवार्य गरिए पनि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीहरूले अग्रिम रूपमा प्रणालीमा दर्ता हुन सक्ने व्यवस्था रहेको छ।

प्रणालीमा दर्ता हुने प्रक्रिया तथा प्रयोगसम्बन्धी म्यानुअल अध्यागमन विभागको वेबसाइटमार्फत प्राप्त गर्न सकिने विभागले जनाएको छ।

८ पुष २०८२