बर्दिबासको चुरे संरक्षण र पर्यटन सम्भावनाप्रति बढ्दो ध्यान


टुरिजम पाना महोत्तरी । २२ मंसिर २०८२

बर्दिबास नगरपालिका क्षेत्रले ओगटेको चुरे पर्वतशृंखलाको प्राकृतिक वातावरण, जैविक विविधता तथा सांस्कृतिक सम्पदा संरक्षणबारे हालसालै विभिन्न निकाय र विज्ञहरूको चासो तीव्र रूपमा बढेको छ। करिब ३० किलोमिटरभन्दा बढी चुरे क्षेत्रमा फैलिएको यो नगरलाई प्राकृतिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको ‘सम्पदा–केंद्र’का रूपमा पहिचान गर्ने अवलोकनकर्ता बढिरहेका छन्।

राइमण्डलडाँडास्थित गिद्ध बासस्थानको निरीक्षणपछि चरा संरक्षणका अभियन्ता ईश्वरी चौधरीले बर्दिबासलाई प्राकृतिक पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा वर्णन गरे। उनकाे भनाइमा, “यहाँ मनोरम चुरे क्षेत्रसँगै धार्मिक र ऐतिहासिक सम्पदा पनि छन्, उचित व्यवस्थापन भए प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्छ।”

चौधरीले आफ्नो इलाकामा स्थापित जटायु रेस्टुरेन्टले पिठौली क्षेत्रमा पर्यटकीय आगमन बढाएको अनुभव सुनाउँदै बर्दिबासमा पनि गिद्ध संरक्षणलाई जोडसँग अघि बढाउन सुझाव दिए। विशेषतः गिद्धको आहाराको दिगो व्यवस्थापन यस क्षेत्रमा मुख्य चुनौती रहेको उनको भनाइ छ।

राइमण्डलडाँडाको गिद्धबास, सोही क्षेत्रको मध्य पाषाण युगीन हतियार निर्माणस्थल, सोलीघोप्टेडाँडाको जडीबुटी क्षेत्र, चनौटेडाँडामा फलेका सुन्तला–जुनार, टुटेश्वरदेखि राइमण्डलधामसम्मका प्राचीन धार्मिकस्थल—यी सबैलाई पर्यटकीय विकासका ‘शक्तिशाली आधार’का रूपमा विज्ञहरूले औँल्याएका छन्।

यो क्षेत्र निरीक्षण गरेका कल्चर भिलेजका संस्थापक देवनारायण मण्डलका अनुसार चुरे क्षेत्रमा बाघ, हरिण, मृग, घोरल, नीलगाई, बँदेल तथा दर्जनौँ चराचुरुङ्गीको बसोवास देखिन्छ। “पुराना हतियार कारखाना र महाभारतकालीन जनश्रुतिले पनि यो ठाउँलाई अद्वितीय बनाउँछ,” उनी भन्छन्।

विज्ञहरूको सुझावपछि बर्दिबास नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरी सम्भावनायुक्त क्षेत्र पहिचान तथा योजनाबद्ध कार्यसूची तयार पार्न थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए। समितिले उपसमिति बनाएर मध्य पाषाण युगका हतियारको प्रारम्भिक अन्वेषणसमेत पूरा गरिसकेको समितिका अध्यक्ष हीरालाल गौतमले जानकारी दिए। प्रारम्भिक निष्कर्षअनुसार राइमण्डल क्षेत्रमा करिब १० हजार वर्ष पुरानो ढुङ्गे हतियार निर्माणस्थल रहेको बताइएको छ।

गिद्ध संरक्षण तथा वातावरण प्रवर्द्धन उपसमितिले स्थानीय समुदायसँग समन्वय गर्दै गिद्धको आहाराको दिगो व्यवस्थापन योजनामा जोड दिएको संयोजक विशाल बस्नेतले बताए। “पिठौलीमा सिकेको अनुभवलाई राइमण्डलमा लागू गर्ने तयारी चलिरहेको छ,” उनले भने।

दुई वर्षअघि १० सामाजिक संस्थाले चुरे पदयात्रा गरी क्षेत्रका ३८ सम्भावित पर्यटकीय स्थल पहिचान गरेर प्रतिवेदन बुझाएपछि बर्दिबासमा चुरे संरक्षण र पर्यटन विकासको विषय झनै चर्चामा आएको थियो। तर ती संस्थाले समन्वय नपाएको गुनासो पनि अघि सारिएको छ।

बाहिरबाट आउने अवलोकनकर्ताले पनि बर्दिबासको चुरे क्षेत्र पर्यटनका हिसाबले समृद्ध बन्ने सम्भावना रहेको बताइरहेका छन्। स्थानीय नीलहरि गौतम भन्छन्, “हाम्रो नगरमै सारा चुरे क्षेत्र पर्छ, अब तीनै तहका सरकारको समन्वयमा ठोस काम अघि बढ्नुपर्छ।”

२२ मंसिर २०८२