पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा आधारभूत पूर्वाधारको अभावले पर्यटन व्यवसाय संकटमा परेको भन्दै यहाँका व्यवसायीहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । धनकुटाको भेडेटारस्थित स्काई वाकका प्रबन्ध निर्देशक तथा हाइडअवे होटलका संस्थापक सुनिल भुसालले भेडेटारमा व्यवसाय सञ्चालन गर्न अत्यन्तै कठिन भइरहेको बताएका छन् ।
उनका अनुसार भेडेटारमा न त नियमित विद्युत् आपूर्ति छ, न त धारा मार्फत पर्याप्त पानी नै उपलब्ध हुने अवस्था छ । ‘पूर्वको पर्यटनको मुटु मानिने भेडेटारमा यति धेरै होटल तथा रेस्टुरेन्ट सञ्चालनमा हुँदाहुँदै पनि आधारभूत पूर्वाधारको यस्तो अभाव हुनु निकै दुःखद विषय हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
भुसालले सम्बन्धित सरकारी निकायप्रति असन्तुष्टि जनाउँदै यस्ता समस्याप्रति बेवास्ता गरिएको जस्तो अनुभूति हुने बताएका छन् । उनका अनुसार पर्यटन क्षेत्रलाई दीगो रूपमा प्रवद्र्धन गर्नका लागि आवश्यक हुने न्यूनतम पूर्वाधार नै कमजोर हुँदा व्यवसायी मात्र होइन, पर्यटकसमेत प्रभावित भइरहेका छन् । ‘सम्बन्धित निकायहरूले यसप्रति बेवास्ता गरेका हुन् कि जस्तो महसुस हुन्छ । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने हो भने यस्ता आधारभूत समस्याहरुलाई तत्काल समाधान गर्नु आवश्यक छ ।,’ उनी थप्छन् ।
विजुली नहुनुको मुख्य कारण भनेको भेटेटार क्षेत्र वरिपरि एक वटा मात्र ट्रान्सफर्मर हुनु हो । एउटा मात्र ट्रान्सफर्मर हुँदा लामो दूरीबाट बिजुली ल्याउनु पर्ने र धेरै ठाउँमा एउटै ट्रान्सफर्मरबाट बिजुली वितरण गर्नुपर्ने भएकाले बिजुली अपुग भएको धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार यसको प्रत्यक्ष असर लिफ्टिङ खानेपानीमा परेको छ । ‘बत्ति नभएपछि लिफ्टिङको पानी तान्न पनि सकिँदैन त्यसले गर्दा पानीको पनि अभाव भोग्नुपर्छ ।’ उनले बताए ।
नमस्ते झरनाको शिरमा रहेको शिशिरे मुहानबाट आउने पानी भेडेटारका बासिन्दालाई वितरण गरिन्छ । त्यसको लागि लिफ्टिङको व्यवस्था गरिएको छ । तर निरन्तर बिजुली नहुँदा लिफ्टिङबाट पानी वितरण गर्न समस्या हुन्छ । ‘मुहानमा पानी नभएर पानी नदिएको होइन । बिजुली नहुँदा पानी तान्न मिल्दैन अनि पर्याप्त पानी पनि नसकिएको पालिकाको खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष मणि कुमार तामाङले बताए । ‘पानी अपुग हुनुको कारण पनि मुहान रित्तिएर होइन । मुहानमा सबै ठिक छ । तर बिजुली नहुँदा लिफ्टिङबाट पानी वितरण गर्न सकिँदैन ।’ तामाङले बताए । यस समस्याको लागि पर्याप्त विजुली वितरण गर्न मिल्ने गरि ट्रन्सफर्मर जडान गर्नुपर्छ । ‘एउटा मात्र ट्रान्सफर्मर छ यहाँ । त्यो थप गरेर बिजुली वितरण गर्ने हो भने विजुली पनि पर्याप्त पुग्छ । अनि लिफ्टिङबाट पानी वितरण गर्न पनि सकिन्छ ।’ उनले बताए ।
भेडेटारमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । तर, पानी र बिजुलीजस्ता आधारभूत सेवाको अभावले होटल तथा रेस्टुरेन्ट सञ्चालनमा प्रत्यक्ष असर पारिरहेको व्यवसायीहरू बताउँछन् । यसले सेवा गुणस्तरमा गिरावट ल्याउनुका साथै पर्यटकको अनुभवसमेत कमजोर बनाउने खतरा बढ्न सक्दछ ।
स्थानीय व्यवसायीहरूले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार तथा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरूले विद्युत् आपूर्ति नियमित गर्ने, खानेपानी व्यवस्थापन सुधार गर्ने तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । भेडेटारलाई कोशी प्रदेश कै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना विभिन्न तहमा चर्चा भए पनि व्यवहारमा त्यसअनुसारको पूर्वाधार विकास हुन नसकेको गुनासो बढ्दै गएको छ ।








