इलामको नयाँ गन्तब्य , झन्डीडाँडा !


टुरिजम पाना संवाददाता ईलाम । १० माघ २०८०

झन्डीडाँडा इलामको रोङ गाउँपालिका–६ रम्भ्याङस्थित एक आकर्षक पर्यटकीय स्थल हो । मेची राजमार्गको हासपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीडाँडाको महत्व र सहजता बढेको छ । झन्डीडाँडालाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।

यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्गै नियाल्न सकिन्छ ।

झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको ठाउँ हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिंढी बनाएर रेलिङ हाली आकर्षक बनाइएको छ ।

झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा पर्ने झन्डीडाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाड दुवैतिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचूर सम्भावना बोकेको ठाउँ हो ।

भारतबाट समेत मेची खोलाहुँदै यहाँ आउन सकिन्छ । हासपोखरी र ब्युटी बोर्डर दुवै प्वाइन्टबाट गाडीमा र पदमार्ग भएर पनि झन्डीडाँडामा आउने सुविधा छ । साइक्लिङ रोड समेत भएकाले साइकलमा समेत युवाहरू यो पदमार्गबाट आउने गरेका छन् । चुरे क्षेत्रमा यो उचाइको डाँडो विरलै पाइने गरेकाले पनि झन्डीडाँडाको महत्व अझ बढेको छ । झन्डीडाँडामा पर्यटकले क्याम्प फायर र नाइट स्टे क्याम्प पनि गर्न थालेका छन् ।

किरात संस्कृतिको धरोहर

झन्डीडाँडा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई मानिएको छ । रम्भ्याङमा रहेको खेल मैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ ।
किरातीहरूले उधौली, उभौली जस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका, झन्डा गाड्ने चलन थियो ।

त्यही चलनअनुसार संस्कार, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाड्ने गरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको किंवदन्ती छ । किरातीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्ने गरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि यहाँ साकेला थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ ।

झन्डीडाँडाबाट दृश्यावलोकन

यहाँबाट सूर्याेदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्याेदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइन्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिंडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीयवासी यो क्षेत्रमा पहिलेदेखि नै सूर्याेदय हेर्न जाने गरेका थिए ।

कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–शहर मात्र नभई भारतको दार्जीलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिष्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

वनभोज

यो क्षेत्रमा पहिलेदेखि नै स्थानीय वसन्त र शरद ऋतुमा वनभोज (पहिले वनभात भनिन्थ्यो) खान जाने गरेका थिए ।  आजभोलि तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्र्याक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । सडक पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने यो क्रम अझै बढ्ने निश्चित छ ।

झन्डीडाँडामा साहसिक खेल सम्भावना

झन्डीडाँडा आसपासमै पाराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहाँबाट पाराग्लाइडिङ परीक्षण भएको थियो ।

पाराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मका पर्यटक समेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो पाराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्नेछ । मिनी माउन्टेन आसपास पाराग्लाइडिङ ल्यान्डिङ गराउनसके मिनी माउन्टेनलगायत त्यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ ।

झण्डीडाँडामा आउने पर्यटकलाई लक्षित गरी रम्भ्याङमा पनि होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ ।

१० माघ २०८०