बेनीबारे अपशब्द बोलेपछि सिसनको आलोचना, गल्ती स्विकार्दै मागे माफी


टुरिजम पाना संवाददाता काठमाडौं । ३ जेष्ठ २०८१

ट्राभल कन्टेन्ट क्रिएटरका रुपमा चर्चित रहेका सिसन बानियाँले केही दिनअघि म्याग्दीको सदरमूकाम बेनीबारे गरेको टिप्पणीलाई लिएर माफी मागेका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत माफी मागेका हुन् ।

केही दिन अघि एक पोडकास्टमा बोल्दै उनले बेनी बजारबारे अपशब्द बोलेपछि उनको आलोचना भइरहेको छ । सोही सन्दर्भमा उनले बुधबार माफी मागेका हुन् ।

‘म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको बिषयमा मैले व्यक्त गरेको बिचारले म्याग्दी वासीमा पर्न गएको आघात प्रति म क्षमा प्रार्थी छ। कहिलेकाहीँ बोल्ने क्रममा गल्ती हुँदो रहेछ,’ उनले लेखेका छन्,’बोलिएका शब्दहरुलाई फिर्ता लिदै गल्ती स्विकार गर्दछु ।’

उनले बेनी बजार वरपरका क्षेत्रहरू ऐतिहासिक, धार्मिक, पर्यटकीय र व्यापारिक हिसाबले समेत महत्त्व बोकेका ठाउँ भएको उल्लेख गरेका छन् । साथै मुक्तिनाथको प्रवेशद्वारको रुपमा पनि बेनी बजारलाई लिने गरिएको बताएका छन् ।

उनले भनेका छन्,’आगामी दिनमा मेरो तर्फबाट समग्र म्याग्दीको बिषयमा सकारात्मक प्रचार प्रसार रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । साथै यस ठाँउको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

 

३ जेष्ठ २०८१