संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य नियुक्ति प्रक्रियाअन्तर्गत छनोट समितिको सिफारिसका आधारमा उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार २०८३ वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरिएको थियो । तोकिएको अवधिभित्र २७ जनाले आवेदन दिएका थिए ।
शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि छनोट समितिले वर्णानुक्रमअनुसार पाँच जनाको नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
सिफारिस सूचीमा डा. दीपक प्रसाद बराल, प्रविन भट्टराई, महेन्द्र भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाल रहेका छन् ।
मन्त्रालयले २०८३ जेठ ३१ गते मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गर्ने निर्णय भएको जनाउँदै सात दिनभित्र नियुक्ति लिन मन्त्रालयमा उपस्थित हुन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जय नारायण आचार्यद्वारा जारी सूचनामा उक्त जानकारी दिइएको हो ।








