मधेसको मौलिक स्वाद चखाउन सेफ सन्तोषले झम्सिखेलमा सुरू गरे रेष्टुराँ


टुरिजम पाना संवाददाता काठमाडौँ । २५ बैशाख २०८१

सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा ‘मिथिला बाइ सन्तोष साह’ सुरु गरेका छन् । जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँ उपत्यकाबासीलाई खुवाउने योजनाका साथ उनले झम्सिखेलमा रेष्टुराँ सुरु गरेका हुन् ।

बिबिसीका मास्टर सेफ साहले यसअघि जनकपुरमा मिथिला थाली सुरु गरेका थिए । जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यले जनकपुरमा मिथिला थालीको सुरुआत गरेपछि साहले काठमाडौँमा पनि मिथिला थाली सुरु गरेका हुन् ।

“स्थानीय परिकारको प्रबद्र्धनका लागि पहिले जनकपुरमै मिथिला थाली खोल्ने योजना पूरा भएपछि अहिले काठमाडौँ आएको हुँ”, उनले भने, “ललितपुरको झम्सिखेलबाटै ग्राहकले मिथिला क्षेत्रकौ मौलिक परिकारको स्वाद थाहा पाउनुहुनेछ ।”

सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइलगायतका परिवार राखेका छन् । साथै मिथिला थाली ५५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेष्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । ग्राहकले ती मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग गर्न सक्ने साहको भनाइ छ । “हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ”, उनले भने ।

साहले यसअघि मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरुका लागि खर्च गर्दै आएका थिए ।

२५ बैशाख २०८१