प्लाष्टिकविरुद्ध कावासोतीका होटल र होमस्टेहरूको संयुक्त अभियान


टुरिजम पाना नवलपुर । २५ मंसिर २०८२

कावासोती क्षेत्रका होटल तथा होमस्टेहरू प्लाष्टिकको प्रयोग घटाउने अभियानमा सक्रिय बन्दै गएका छन्।

पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती क्षेत्रमा सञ्चालनमा रहेका थारू गाउँ रिसोर्ट, टाइगर टप्स थारु लज, टेम्पल टाइगर, नाना जंगल रिसोर्ट, थारू कम्युनिटी लज, हिमालय सेन्चुरी, होटल नेचर एजे, बरौली सामुदायिक होमस्टेसहितका संरचनाहरूले प्लाष्टिकको प्रयोग नगर्ने नीति अपनाइरहेका छन्।

यी होटल तथा रिसोर्टहरूले स्वागत पेयदेखि बेडरुमसम्म प्लाष्टिक बोटलको सट्टा सिसा वा फाइबरका बोतल र गिलास प्रयोग गर्दै आएका छन्। केही पाहुनाले मात्र खुला पानीप्रति संकोच देखाए पनि अधिकांशले फिल्टर गरिएको पानी सहजै स्वीकार गर्ने गरेको होटल सञ्चालकहरूको भनाइ छ।

टाइगर टप्स थारू लजका म्यानेजर आशिक गुरुङका अनुसार होटलभित्रका भाँडाकुँडादेखि दैनिक प्रयोगका अधिकांश सामग्रीमा प्लाष्टिक पूर्ण रूपमा हटाइएको छ। बजारबाट आउने प्लाष्टिकका झोला भने पूर्ण रूपमा निषेध गर्न नसकिएको र बाध्यात्मक अवस्थामा मात्र प्रयोग हुने उनको भनाइ छ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा प्लाष्टिक प्रयोगमै रोक लगाइएको र पाहुनाको स्वास्थ्य तथा वातावरण संरक्षणका लागि पनि यो अभ्यास अत्यन्त महत्वपूर्ण रहेको होटल व्यवस्थापकहरूले बताएका छन्।

२५ मंसिर २०८२