‘कञ्चनजङ्घा क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य’


टुरिजम पाना काठमाडौँ । १४ माघ २०८१

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्र विश्वका पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यस क्षेत्रको प्रवर्द्धन गरेर लाभ लिनुपर्नेमा जोड दिइएको छ ।

समृद्ध पहाड र नेपाल चाइना फ्रेन्डशिप फोरमको सहकार्यमा आयोजित अन्तरक्रियामा वक्ताहरूले कञ्चनजङ्घा क्षेत्रमा आवश्यक पूर्वाधार विकास एवं प्रचारप्रसारमा जोड दिए ।

विश्वकै तेस्रो ठूलो हिमाल कञ्चनजङ्घा एवं आसपासका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित भएकाले आगामी दिनमा सो क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य हुने सरोकारवालाहरूको विश्वास छ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसायी एवं सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कञ्चनजङ्घा क्षेत्र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको र सो क्षेत्रमा भ्रमण गर्नेहरूको सङ्ख्या पनि वृद्धि हुँदै गएको बताए । उनले यस क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समृद्ध पहाडका बोर्ड अफ डाइरेन्टर एवं पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्यटनसँग सम्बन्धित नीतिलाई पर्यटक, समुदाय एवं व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए ।

समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको जैविक विविधता एवं स्थानीयको आर्थिक उत्थानका लागि सबैले मिलेर काम गर्न ध्यानाकर्षण गराए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्लो समय सूचना प्रविधिको सहज पहुँच भएसँगै पर्यटकले गर्ने छनोट र व्यवसायीले गर्ने लगानीको तादम्यता नमिलेको बताए ।

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले विश्व बजारमा कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसार गर्न सकेमा स्थानीय जनताको आर्थिकस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चाइन फ्रेन्ड्शिप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले अथाह सम्भावना रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्रका प्रतिनिधि एवं स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

१४ माघ २०८१