हिमालयन रिभर गाइड एसोसिएसनले पहिलो पटक आयोजना गरेको कायक प्रतियोगितामा बोर्डर क्रस विधामा रञ्जन कँडेल र फ्रिस्टाइल विधामा रबिन चेपाङ विजयी भएका छन् ।
यही पुस १८ र १९ गते सम्पन्न प्रतियोगितामा बोर्डर क्रस विधामा मोहन राना दोस्रो र लक्ष्मण गुरुङ तेस्रो भए भने साथै फ्रिस्टाइल विधातर्फ अमृत थापा दोस्रो र मोहन राना तेस्रो भएको आयोजक संस्थाका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।
विजेता कँडेल र चेपाङलाई जनही १५ हजार रुपैयाँ तथा पदक प्रदान गरियो । साथै दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्ने मोहन राना सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई पाँच हजार रुपैयाँ र कप प्रदान गरियो ।
कँडेलले आफूलाई मनपर्ने खेलमा विजयी हुन पाउँदा निकै खुसी लागेको बताए । “जितको लक्ष्य लिएर प्रतियोगितामा सहभागी भएको थिए, यस प्रकारको प्रतियोगिता समय समयमा हुनुपर्छ भन्ने लाग्छ, प्रतियोगिताले खेलाडीको मनोबल बढाउँछ”, उनले भने ।
कँडेलले सन् २०२५ डिसेम्बर २३ मा सम्पन्न चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए । कँडेल पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशुली रिभरसाइड रिसोर्टमा र्याफटिङ गाइडका रुपमा कार्यरत छन् ।
महासचिव राजु श्रेष्ठले पछिल्लो समय अन्य संस्थाहरुले यस प्रकारको प्रतियोगिता गरिरहेको उल्लेख गर्दै हिमालयन रिभरगाइड एशोसिएसन नेपालले निरन्तरता दिएको बताए । “हामीले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो, खेलाडीको मनोबल उकास्न र प्रोत्साहन गर्नका लागि प्रयोगिता आयोजना गरिएको हो”, उनले भने । उनले आगामी वर्ष देशभरका कायकलाई सहभागी गराउने लक्ष्य रहेको बताए ।
नेपालमा कयाक खेलको प्रवद्र्धन, नदी पर्यटनको विकास तथा दक्ष नदी मार्गदर्शक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ३५ जना खेलाडीको सहभागिता थियो । एसोसिएसनले आगामी दिनमा अझ व्यवस्थित, सुरक्षित तथा स्तरीय कयाक प्रतियोगिता आयोजना गर्दै कयाक खेल र नदी पर्यटनको विकासलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।








