घट्यो भारतबाट कर्णाली घुम्न आउने पर्यटकको संख्या


टुरिजम पाना काठमाडौं । २९ पुष २०७९
Tourism in karnali, Pradesh Sarakar
कर्णाली प्रदेश सरकार, पर्यटन मन्त्रालयको वेबसाईटबाट ।

आर्थिक वर्ष २०७८/७९ मा भारतबाट कर्णाली घुम्न आउने पर्यटकको संख्या १० प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार, भारतबाट कर्णाली प्रदेशमा घुम्न आउने पर्यटकको संख्या १० प्रतिशतले घटेको देखाएको हो ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा ६६.१७ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा वर्षमा ५६.७७ प्रतिशतले वृद्धि भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १६८.७५ प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा आर्थिक वर्ष २०७८/७९ को सोही महिनासम्ममा ५५.३५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

यस्तो वृद्धिदरको मुख्य कारणमा कर्णाली प्रदेशको दैलेख जिल्लामा खनिज तेल उत्खनन्को क्रममा आएका चिनियाँ श्रमिकहरू तथा कोभिड महामारीको प्रभावमा आएको क्रमिक सुधारलाई लिन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस प्रदेशमा समीक्षा वर्षमा तेस्रो मुलुकबाट आउने पर्यटकहरूको संख्यामा १४१.७२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षमा यो वृद्धिदर ४०.७३ प्रतिशत रहेको थियो ।

प्रतिवेदनका अनुसार, यस प्रदेशमा गत वर्षमा होटलहरूको औसत अकुपेन्सी २४.६९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४७.०६ प्रतिशत पुगेको छ ।

समीक्षा वर्षमा कर्णाली प्रदेशका होटलहरूको शैया संख्या ५.२० प्रतिशतले घटेको छ । गत वर्षको सोही वर्षमा होटल शैया संख्या १.५७ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १६.५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही वर्षमा यस व्यवसायले प्रदान गरेको प्रत्यक्ष रोजगारीमा ६.६२ प्रतिशतले ह्रास आएको थियो ।

२९ पुष २०७९