रामदेव खप्तड आउँदै, अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रवचन दिने


टुरिजम पाना संवाददाता खप्तड । ५ जेष्ठ २०८०

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी सुरू भएको छ ।

खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने तय भएको आयोजकले जनाएको छ।

आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सयजनालाई सहभागी गराउने आयोजकको तयारी छ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए।

सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम छ।

योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ। आयोजकका अनुसार सम्मेलनका क्रममा खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षलगायत विषयमा केही कार्यपत्र प्रस्तुत गरिनेछन्।

५ जेष्ठ २०८०