पूर्वी नेपालको इलाममा मात्र बसोबास रहेको लाप्चा जातिको संस्कार र संस्कृति पछिल्लो समय पर्यटकको लागि विशेष आकर्षण बनेको छ । इलाम जिल्लाको पूर्वी भेगमा अत्यन्तै कम सङ्ख्यामा बसोबास गर्ने लाप्चाहरू बौद्ध धर्मावलम्बी हुन् ।
लाप्चा जातिको आफ्नै पहिरन छ । लाप्चा पुरुषले लगाउने पहिरनलाई ‘दमवोन’ भनिन्छ भने महिलाले लगाउने पहिरनलाई ‘दमदेन’ भनिन्छ । यी पोसाक लगाएर तस्बिर खिच्न र जातीय संस्कृति बुझ्न विशेष गरि तेस्रो मुलुकका पर्यटकहरू यहाँ आउने गर्छन् ।
लाप्चा संस्कृतिको उत्थानमा जुटेका बुद्धकाजी लाप्चाका अनुसार लाप्चा संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गरि प्रचार गर्न सकियो भने पर्यटक तान्न समस्या पर्दैन ।
महिला र पुरुषका पहिरन, बर्सेनि मनाइने ‘नामबुन नामआल’ पर्व, पुरुषले लगाउने कालो रङ्गको घुमाउरो टोपी ‘टप्री’, भित्रबाट लगाउने सेतो रङ्गको कमिज र घुँडासम्मको सुरुवाल ‘तगो’, कमिजबाहिर छिर्के कपडा ‘तम्प्रा’, कम्मरमा बाँध्ने पेटीजस्तो ‘नम्रिक’, कम्मरको एकापट्टि काठको कभरभित्र राख्ने हतियार ‘वामफोक’, खुट्टामा लगाउने ‘लोम’ अर्थात् जुत्ताले पर्यटकलाई अहिले पनि खुबै तानिरहेको छ ।
लाप्चाहरुले १८८४ देखि वि.सं. २००५ सालसम्म प्रत्यक्ष रूपमा इलामको प्रशासन चलाएको इतिहास छ । सिक्किमबाट भागेर आएका युक्लाथुपले तत्कालीन नेपाल सरकारबाट ५० नाल बन्दुकसहित बिर्ता लालमोहर र मानाचामल लालमोहर प्राप्त गरेको इतिहास छ ।
त्यस्तै लाप्चा महिलाहरूले लगाउने बक्खुजस्तै ‘दम्मोन’ साथै दम्मोनसँग चोलीका रूपमा लगाउने ‘तगो’, बर्कोका रूपमा ओढ्ने ‘स्याटक’, कान तथा घाँटीमा लगाउने वेतबाट बनेको माला र टपका रूपमा लगाउने ‘ल्याक’ साथै टाउकोमा बाँधिने सानो कपडाको फेरोले पर्यटकलाई लोभ्याउने गरेको बुद्धकाजीको भनाइ छ ।
धार्मिक तथा सामाजिक कार्यमा आस्था राख्ने बौद्ध धर्मावलम्बी यी जातिका मानिसहरू अतिथि सत्कारमा शौखिन मानिन्छन् । आफ्नै भाषा, पहिरन, संस्कृति र संस्कार भएका लाप्चाहरू पहाडी, हिमाली तथा लेकाली क्षेत्रमा बस्न बढी रुचाउँछन् ।
लाप्चाहरुले १८८४ देखि वि.सं. २००५ सालसम्म प्रत्यक्ष रूपमा इलामको प्रशासन चलाएको इतिहास छ । सिक्किमबाट भागेर आएका युक्लाथुपले तत्कालीन नेपाल सरकारबाट ५० नाल बन्दुकसहित बिर्ता लालमोहर र मानाचामल लालमोहर प्राप्त गरेको इतिहास छ । यही इतिहासको पाटो खोज गर्न, अनुसन्धान गर्न पनि पर्यटकहरू लाप्चा बस्तीमा पुग्ने गरेका छन् ।
लाप्चा संस्कृति र सामाजिक जीवन बारे खोज अनुसन्धान गरिरहेका पत्रकार तोयानाथ भट्टराई लाप्चा संस्कृतिलाई राज्यले नजिकबाट पहिचान गरेर विश्वभर प्रचार गर्ने हो भने मात्रै पनि पर्यटकको ओइरो लाग्ने बताउँछन् । ‘लाप्चाहरूको जस्तो पृथक र आश्चर्य लाग्ने संस्कृति अन्य जातिको कमै मात्रमा भेटिन्छ ।
त्यसैले यस जातिको संस्कृति चिनाउने काममा राज्यले प्राथमिकता दिन सक्नुपर्छ ।’ पत्रकार भट्टराई भन्छन् । लाप्चा जातिको उत्पति विशेष गरि कञ्चनजङ्घा र अरुण नदीको आसपासमा भएको पाइन्छ । पूर्वी पहाड, पश्चिम बङ्गालको दार्जिलिङ, सिक्किमका कतिपय ठाउँको नाम पनि यीनै लाप्चा जातिको भाषाको आधारमा राखिएको तथ्यहरू भेटिन्छ ।
पूर्वमा अरुण नदी, पश्चिममा पाँचथरको च्याङथापु, उत्तरमा गीपमोची (हाल तिब्वत र चाइनाको बोर्डर) र दक्षिणमा तितलिचा (हाल वेष्ट बङ्गाल) यी चार किल्लाभित्रको जमिनको नामसमेत लाप्चा भाषाबाट राखेको पाइएको इतिहासकारहरूले बताउने गरेका छन् ।
प्रकृतिपूजक यी जातिको धार्मिक विशेषता, कलात्मक अतिथि सत्कार, मृदुभाषी शैली, सद्भावको भावनाले सिक्किम, दार्जिलिङ मात्रै होइन इलामको अन्तु, कन्याम, फिक्कललगायतको क्षेत्रमा पर्यटक बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
हिजोआज पर्यटकको रोजाइमा पर्ने गरेको अन्तुको पर्यटन विकासमा लाप्चा जातिको संस्कृतिले मुख्य भूमिका खेलेको स्थानीयको दावी छ । वास्तवमा अन्तु, भौगोलिक बनावटको हिसाबले सुन्दर गुमुक्क परेका चियाबारीले ढाकेका डाँडाहरू, उद्यमी किसानहरूले संरक्षण गरेको हरियाली साँच्चै लोभलाग्दो छ ।
अन्तु लोभलाग्दो बनाउनमा लाप्चा समुदायको ठूलो योगदान रहेको पूर्वसांसद टीकाराम सुब्बाको भनाइ छ ।
सुब्बाले भने, ‘अन्तुमा पुगेर गरिने सूर्याेदयको दृश्यावलोकन, हिम शिखरको दृश्यावलोकन अन्य जातजातिका संस्कृति र परम्परासँगै अन्तुका आदी बासिन्दा लाप्चा जातिको सँस्कुति, भाषा, लिपि र भेषभूषाले यहाँको पहिचान गराएको छ ।
त्यसैले पर्यटनसँग लाप्चा संस्कृति र भेषभूषालाई अनिवार्य रूपमा अघि बढाउन सक्नुपर्छ ।’ तत्कालीन जिल्ला पञ्चायत रहेका बेला अन्तु पर्यटनका लागि २०२७ सालतिर अतिथि गृह निर्माण गर्नमा स्थानीय अगुवा जगतबहादुर लाप्चाले प्रमुख भूमिका निर्वाह गरेको पाइन्छ ।
फलस्वरुप नेपालमा पहिलोपटक होमस्टेको अवधारणाको सुरुवात अन्तुबाट नै भएको दाबी गरिन्छ । त्यसैले त यतिबेला अन्तुमा घरबास (होमस्टे) व्यवसाय निकै फस्टाएको छ । पर्यटनमा लगानी बढेको छ । लाप्चाहरूको ऐतिहासिक ठाउँहरू पनि यतिबेला पर्यटकको चासोमा पर्ने गरेका छन् ।
त्यस्तै बाजाहरू चाप्राजाङ, पन्तोङ पलित, निब्रियो पलित, स्युतपलित, स्युतटोक्रो, टोङबोक, साच्सङ, पटे साथै धार्मिक अनुष्ठानमा प्रयोग गरिने सोङतोङदुर, ग्यालिङ, छदुङ, डमू, डमरू, ऐतिहासिक हातहतियारहरू हेर्न पनि पर्यटक जाने गरेका छन् ।
सूर्योदय नगरपालिकाभित्र रहेका दुईवटा ऐतिहासिक गुम्बा बौद्ध धर्मावलम्बी र अन्य धर्ममा आस्था राख्नेहरूको रोजाइको गन्तव्य हो । ती गुम्बाहरू दुई शताब्दी पुरानो मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने स्थानीयबासी बताउँछन् ।
त्यस्तै इलाम सदरमुकाम नजिकै रहेको गोदकको असले खोला किनारमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुङ्गा, जाँतो हेर्न पनि पर्यटकहरू पुग्ने गरेका छन् ।
त्यस्तै बाजाहरू चाप्राजाङ, पन्तोङ पलित, निब्रियो पलित, स्युतपलित, स्युतटोक्रो, टोङबोक, साच्सङ, पटे साथै धार्मिक अनुष्ठानमा प्रयोग गरिने सोङतोङदुर, ग्यालिङ, छदुङ, डमू, डमरू, ऐतिहासिक हातहतियारहरू हेर्न पनि पर्यटक जाने गरेका छन् ।
सरकारी तवरबाट सङ्ग्रहालय निर्माण भइनसके पनि निजी लगानीमा स्वर्गीय जगतबहादुर लाप्चाले अन्तुको आफ्नै घरमा सङ्ग्रहालय बनाएका छन् । उनका छोरा उमेशकाजीले उक्त सङ्ग्रहालयको रेखदेख गर्दै आइरहेका छन् । साथै जातीय परिकार पनि पर्यटकका लागि आकर्षण बनेको छ ।
लाप्चा जातिको परिकार स्वाद लिएर रमाउने पर्यटक पनि प्रशस्त भेटिन्छन् । रोङ गाउँपालिकामा त लाप्चा भाषाको पढाइ नै सुरु भइसकेको छ । सङ्ग्रहालय निर्माणको अवस्थामा छ ।