अन्नपूर्ण आरोहण दिवसमा म्याराथन


टुरिजम पाना संवाददाता पोखरा । ४ जेष्ठ २०८०

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी शुरू गरिएको छ। म्याराथनसँगै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवसमेत हुँदै छ।

जेठ १७ देखि २० गतेसम्म महोत्सव हुन लागेको हो। अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले बताए।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ ।

‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने। म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्ने उनको भनाइ छ।

म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन्।

पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए।

गुरुङका अनुसार भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

४ जेष्ठ २०८०