जापानी नागरिक मासिहाडे ओमेतेले दोर्दी गाउँपालिका स्थित ७,८९३ मिटरको हिमालचुली हिमालमा आफ्नो स्वर्गिय साथी हासेनुबु हिरो र फुरिता मासाको सम्झनामा ‘मेमोरियल बोडर्’ टाँस गर्दै श्रद्धाञ्जली दिएका छन् ।
सन् १९८३ मा हिमालचुली हिमालको आरोहण गर्न जापानबाट ४ जनाको जापानीज टोली आएका थिए । ती ४ जना मध्ये २ जना पर्वतारोही हासेनुबु हिरो र फुरिता मासाको हिमाल आरोहणकै क्रममा ६,६०० मिटर उचाईमा मृत्यु भएको थियो । सोही घटनाको सम्झनामा ४१ वर्ष पछि सोही स्थानमा उनीहरूको परिवारका सदस्यहरुको प्रतिनिधित्व गर्दै हासेनुबु हिरोका कलेजसंगै पढेका साथी मासिहाडे ओमोतेले उक्त स्थानमा मेमोरियल बोर्ड टाँस गर्दै श्रद्धाञ्जली दिएका हुन् ।
ओमोतेले श्रद्धाञ्जली पश्चात मेमे पोखरीको समेत भ्रमण गरेका छन् । साथै उनले दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीसँग भेट गरि हिमालचिली क्षेत्रको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल समेत गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘मासिहाडे ओमोत र गाइड राजु गुरुङल अक्टोबर १२ तारिखमा हिमालचुलीको आरोहण सुरु गरेका थिए । भने १७ तारिखमा हिमचुलीको ६,६०० मिटर उचाई अर्थात स्व. हासेनुबु हिरोको मृत्यु भएको स्थानमा मेमोरियल बोर्ड टाँस गरेर २० तारिखमा दोर्दी फर्कनु भयो,’ उनी भन्छन् ‘आमोतेले हिमालचुली हिमालको शिखरसम्म पुग्नु भएन । बेसक्याम्पबाटै हिमचुलीको दृष्यावलोकन गरे ।’
अध्यक्ष अधिकारीका अनुसार, हिमालचुली पदमार्गमा केही निर्माण कार्य सञ्चालित आवस्थामा रहेका कारण पदयात्रीले केही समस्या भोग्नु परिरहेको छ । तर केही समयपछि पुननिर्माणका कार्य सम्पन्न भए लगत्तै हिमचुली हिमालको सर्किट रुट सञ्चालनमा आउने र यसले पदयात्रुहरूलाई सहजता प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उनले जानकारी दिए ।