एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उहाँले बताउनुभयो ।
 “स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ”, उहाँले भन्नुभयो, “केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छाँै ।” पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ ।
धुलो र धुुँवाले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन् । पदप्रर्दशकसमेत रहेका मुस्ताङको लेतेका हरि नेपालीले मुस्ताङमा सडक बनेपछि स्वदेशी र भारतीय पर्यटक आगमन बढे पनि पैदलयात्रा गर्ने तेस्रो देशका पर्यटकको सङ्ख्या घटेको बताउनुभयो ।पदमार्ग मासिएको र यात्रा अवधि छोटिँदा धेरै राजस्व तिर्ने र खर्च गर्ने क्षमता भएका तेस्रो मुलुकका पर्यटक घटेका उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९ दशमलव १२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९ दशमलव २० प्रतिशतमा झरेको छ ।