दैनिक चार घण्टा सडक बन्दले चितवनका पर्यटन व्यवसायी चिन्तित, पर्यटकलाई सास्ती


टुरिजम पाना चितवन । ११ पुष २०७९

नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द भएसँगै चितवनका पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् । उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोक्ने निर्णय गरेसँगै पर्यटकीय नगरी चितवनका पर्यटन व्यवसायीहरु चिन्तित भएका हुन् ।

कोरोना कहरपछि लामो समयदेखि थला परेको पर्यटन व्यवसाय उकास्दिा उत्साहित बनेका पर्यटन व्यवसायी यो निर्णयबाट पुनः चिन्तित बनेका हुन् । विगत एक बर्ष नेपाल आउने पर्यटकको तथ्याङक हेर्ने हो भने करिब ५ लाख पुग्नु सुखद् पक्ष हो ।

कोरोनापछि आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भईरहेको समय र पर्यटकका लागि घुमफिर गर्ने सिजनमै यसरी ४ घण्टासम्म सडकमा सवारी आवागमन रोकिनु आफूहरुका लागि दुखद् भएको जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले टुरिजमपानालाई बताए ।अंग्रेजी नयाँ बर्षमा थुप्रै विदेशी घुम्नकै लागि नेपाल आउने र ती नेपाल आएका अधिकांश पर्यटक चितवन घुम्न आउने भएकाले पर्यटकको फ्लो वढी हुने समयमै सडक बन्द गर्दा पर्यटकको संख्या झन घट्ने घिमिरेले बताए ।

चितवनमै रेम्बो सफारी रिसोर्ट सञ्चालन गरिरहेका किशोर दाहालले पनि दिनमा ४ घण्टासम्म दिउँसो सडक बन्द गरिनुले पर्यटन व्यवसायलाई प्रत्यक्ष असर पार्ने प्रतिक्रिया दिन्छन् । उनी भन्छन्, ‘पर्यटनमा असर गर्छ भन्दैमा सडक नै नबनाउने भन्ने हैन्, तर दिउँसोको समयमा भन्दा रातीको समयमा सडक र पुलको मर्मत गर्दा पर्यटकलाई सास्ती हुने थिएन् भन्ने चाहि हो ।’ चितवन आउने पर्यटकहरु सेड्युलमा थोरै समय छुट्टाएर आउँने हुँदा बाटोमै ४ घण्टासम्म रोकिनुपर्दा पर्याप्त घुम्न नपाउने हुँदा पर्यटकमा निरासा छाउने उनको भनाइ छ ।

पर्यटकहरुलाई यातायात सुविधा दिदैं आईरहेको टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष कृष्ण आचार्यले आफूहरुको माग सडक नै नबनाउने भन्ने नरहेको तर सडक बन्द गर्ने समयमा केहि ढिलाई गरेको भए उचित हुने बताउँछन् । आचार्य भन्छन्, ‘यो सडकले हिजोका दिनमा पनि सबैले दु:ख पाएकै हो, तर त्यसो भनेर सडक नै नबनाएर भएन्, ११ बजेदेखि नै यातायात रोक्नुको सट्टामा १२ बजेदेखि रोकेको भएमा पर्यटकलाई सहज हुन्थ्यो कि ? भन्ने हाम्रो भनाइ हो ।’

यसरी १२ बजेपछि सडक बन्द गर्दा १२ बजेसम्म काठमाडौंबाट छुटेका पर्यटक बस निर्माणाधिन सडक स्थल पार गरिसक्ने हुँदा केहि सहज हुने उनको बुझाई छ । यस बिषयमा सडक बन्दको सूचना आउनु अगाडी नै सडक विभाग र प्रशासनलाई भनेको भएपनि माग सुनुवाई नभएको उनको गुनासो छ । ११ बजे नै बसलाई उक्त स्थान पार गराउन बिहान ६ बजे नै बस छुटाउनुपर्ने भएको तर, चिसो मौसमका कारण त्यसो गर्न नसकिएको आचार्य बताउँछन् ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि पुस ५ देखि एक महिनासम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकमा यातायात आवातजावत बन्द गर्ने निर्णय गरिएको हो । एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीको हकमा भने समय अनुकूलता हेरी छाड्न सकिने बताईएपनि पर्यटक सवारीको हकमा कुनै निर्णय गरिएको छैन् ।

११ पुष २०७९